८७ घर जले, दुई सय ८५ जना विस्थापित

पुस ९, २०७५ | कालिकोट

– भीषण आगलागीले कालीकोटको विकट पलाता १ खाडा गाउँमा ८७ घर जलेर नष्ट भएका छन् । स्थानीय शिक्षक नवीन न्यौपानेको घरबाट सुरु भएको आगोले खरका छाना भएको खाडा गाउँस्थित ८७ घरधुरी जलेर नष्ट भएको प्रहरीले जनाएको छ । घटनास्थल कालीकोटको सदरमुकाम मान्मबाट २१ कोस पश्चिम उत्तर बाजुरा नजिकै पर्छ । साविकको धौलागोह गाविस / पलाता कालीकोटको सबैभन्दा टाढा पर्ने गाउँपालिका हो । गएराती साढे १ बजे सुरु भएको आगो खरका छाना भएको वस्तीमा सल्किदै गएको प्रहरीले जनाएको छ ।
आगलागीमा परि ७ जना घाइते भएका छन् । आगोले ३९ वटा घरमा बस्ने ८७ घर परिवारका सबै सामान जलेको प्रहरीले जनाएको छ । ४८ घरधुरी आशिंकरुपले जलेका छन् । आगलागीबाट २ सय ८५ जना विस्थापित भएका छन् । ५ वर्ष मुनिका ४९ बालबालिका प्रभावित भएको घटनास्थल पुगेका नागरिक समाजका अगुवा लिलाराम न्यौपानेले बताउनुभयो ।  निमित्त  प्रहरी प्रमुख देवेन्द्र मल्लले गाउँका सबैजसो घर जलेकाले बस्न र खानाका लागि समस्या भएको बताउनुभयो । आगलागीको कारण अझै पत्ता लाग्न सकेको छैन ।
यसैबीच कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले घटनालाई लिएर दु:ख व्यक्त गर्नु भएको छ । घटना लगत्तै उहाँले घटनास्थल पुगेर अवलोकन समेत गर्नु भएको छ । कर्णाली प्रदेश सरकारले प्रति परिवार २० हजार रुपैयाँ राहतको घोषणा गरेको छ । आगलागी पीडितका लागि विभिन्न निकायसहित स्थानीय सरकारले पनि सहयोगको घोषणा गरेका छन् । कालीकोटको नरहरिनाथ गाउँपालिकाले २ लाख, रास्कोट नगरपालिका, सान्नी त्रिवेणी, पचालझरना गाउपालिकाले १/१ लाख, छिमेकी जिल्ला जुम्लाको कालिकाखेतु गाउँपालिकाले १ लाख रुपैयाँ सहयोगको घोषणा गरेका छन् । 


प्रतिक्रिया