पताला १ का अग्नि पीडितलाई राहत वितरण

पुस १०, २०७५ | कालिकोट

– गाउँ नै सखाप हुने गरी भएको पलाता १ खाडा गाउँका आगलागी पीडित घर परिवारलाई पलाता गाउँपालिकाको अगुवाईमा खाद्य तथा गैह् खाद्य सामग्रीसहितको राहत वितरण गरिएको छ । आगलागी पीडितलाई वडापालिकाको संयोजनमा पलाता निर्माण कार्य दल, जनपद र सशस्त्र प्रहरीले छिमेकी गाउँका घरमा हिजो र आज राती बस्ने ब्यवस्था मिलाइएको छ । आगलागी पीडितलाई प्रहरीले संकलन गरेको क्षतिको आधारमा केही बढी र केही थोरै गरेर सबैलाई राहत सामग्री वितरण गरिएको गाउँपालिकाले जनाएको छ । सबै जलेर केही नहुने र केही सामान बचाउन सफल भएका घर परिवारलाई पहिचान गरेर आज खाद्य तथा गैह्र खाद्य सामग्री वितरण गरिएको गाउँपालिकाकी उपाध्यक्ष दाना न्यौपानेले बताउनुभयो ।

उहाँका अनुसार बढी क्षति भएकालाई ४ बोरा र थोरै क्षति भएकालाई २ बोरा चामल, केही च्यूरा वितरण गरिएको छ । राहत सामग्रीमा दाल र तरकारी अभाव छ । राहत वापत दिएको खाद्यान्न १२ जनाको परिवारलाई थोरै भएको पीडित दिप न्यौपानेले गुनासो गर्नुभयो । त्यस्तै, गृह मन्त्रालय, गाउँपालिकाले खरिद गरेर लगेको गैह् खाद्य सामग्री प्रति परिवारलाई ४ कम्बल, २ डसना, २ सिरक, २ बाल्टीन, ५ थाली, ५ कचौरा, ५ गिलासलगायतका गैह् खाद्य सामग्री उपलब्ध गराइएको छ ।

खाद्य तथा गैह् खाद्य सामग्री हेलिकोप्टरमा पलाता पुर्‍याइएको हो । मिसनइष्टको सहयोगमा किर्डाक नेपालले ३ लाख मूल्यको हाइजीन किट उपलब्ध गराउने कार्यकारी निर्देशक माधवराज न्यौपानेले बताउनुभयो । 

 


प्रतिक्रिया