हुण्डी कारोबारमा संलग्न पाँच पक्राउ 

पुस २२, २०७५ | जनकपुर

गैर कानूनी आर्थिक कारोबार (हुण्डी) व्यवसायमा संलग्न ५ जना पक्राउ परेका छन् । हुण्डीमा व्यवसायमा संलग्न रहेको आरोपमा ८३ लाख ६२ हजार नगद सहित चार भारतीय र एक नेपाली गरी पाँच जनालाई जिल्ला प्रहरी कार्यालय धनुषाले आइतबार पक्राउ गरेको छ । मुख्य आरोपी भने फरार छन् ।

प्रहरी उपरीक्षक गोविन्द थपलियाले पत्रकार सम्मेलन गरी पक्राउ परेका जनकपुर उपमहानगरपालिका १९ वेंगा शिवपुरका ४३ वर्षीय विजय यादव, भारत मधुवनी जिल्ला बासोपटी घर भई हाल जनकपुर उपमहानगरपालिका ११ बस्ने ४० वर्षीय सन्तोष महतो, १२ वर्षीय पप्पु कुमार दास, ५० वर्षीय सुरज ठाकुर तथा ४० वर्षीय नरेश महतोलाई ८३ लाख ६२ हजार नेपाली रुपैयाँ, ६ हजार ६ सय भारतीय रुपैयाँ, विभिन्न बैंकका चेकबुकसंगै हुण्डी कारोबारमा प्रयोग हुने कागज पत्र सहित सार्वजनिक गरेका थिए । 

स्थानीयका अनुसार पक्राउ परेका मध्ये अन्दाजी १२ वर्षीय पप्पु कुमार दास र ५० वर्षीय सुरज ठाकुर घरधनिको घरमा काम गर्ने कामदार हुन् ।

जनकपुर ११ देवीचौकस्थित आफ्नै घरमा वर्षौदेखि अवैध हुण्डी कारोबार गर्दै आएका भारत मधुवनी जिल्ला बासोपटी बस्ने रामेश्वर पूर्वे भन्ने रामेश्वर साह भने फरार छन् । पूर्वे अवैध सुन चाँदी व्यावसायमा समेत संलग्न रहेको आशंका प्रहरीको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषा, प्रदेश प्रहरी तथा प्रहरी प्रधान कार्यालयको संयुक्त टोली आइतबार बिहान उनको घरमै छापामारी पाँच जनालाई पक्राउ गरेको थियो । श्रोतका अनुसार संयुक्त प्रहरी टोलीले यस क्रममा जनकचोकमा जुत्ता चप्पलको कारोबार गर्ने एक व्यावसायीलाई पनि ५ लाख ५७ हजार रुपैयाँ सहित पक्राउ गरेको थियो ।

राई थरका ती व्यावसायी हुण्डी मार्फत रुपैयाँ पठाउन त्यहा पुगेका थिए । तर पत्रकार सम्मेलनमा भने उक्त व्यावसायीलाई सार्वजनिक गरिएन । प्रहरी उपरीक्षक थपलियाले पक्राउ परेका व्यक्तिहरुमाथि बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७२ अनुसार कारबाही चलाउने बताउनुभयो ।

आरोप प्रमाणित भए उनीहरुलाई बरामद रकमको तीन गुणासम्म बिगो तथा ५ वर्ष जेल सजाय हुन सक्छ । 


प्रतिक्रिया