प्रदेश २ का मन्त्री यादवलाई बर्खास्त गर्न कांग्रेसको माग 

माघ २, २०७५ | जनकपुर

नेपाली कांग्रेस धनुषाले प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादवलाई बर्खास्त गर्न माग गरेको छ । मन्त्री यादवको कृयाकलाप लोकतन्त्र र विधिको शासन विपरीत भएको कांग्रेस धनुषाले जनाएको छ ।

नेपाल प्रेस युनियन धनुषाले बुधबार आयोजन गरेको पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य नवीन्द्रराज जोशी र कांग्रेस धनुषाका सभापति महेशशंकर गिरी दुबैले मन्त्री यादवलाई बर्खास्त गर्नु पर्ने माग गरे ।

केन्द्रीय सदस्य जोशीले भन्नुभयो, ‘मन्त्रीले सचिवलाई आफ्नै कार्यकक्षमा बोलाएर कुट्नु आपराधिक घटना हो । विधिको शासनको विपरीत हो, अनि समाजमा भय त्रास सृजना गर्ने काम हो । यस्तो मन्त्रीमाथि कारबाही हुनुपर्छ ।’ 

कांग्रेस धनुषाका सभापति गिरीले राष्ट्र सेवक कर्मचारीहरुले थालेको आन्दोलनमा पार्टीको ऐक्यवद्धता रहेको बताउनुभयो । यस विषयमा पार्टीको आधिकारिक धारणा बनाउन बुधबार जिल्ला कमिटीको बैठक बोलाइएको जानकारी उहाँले दिनुभयो ।  

प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादव र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झाबीचको विवाद बारे आम नागरिक दुई ध्रुवमा विभाजित देखिए पनि प्रदेश २ मा प्रमुख प्रतिपक्षी दलको रुपमा रहेको नेपाली कांग्रेसको आधिकारिक धारणा भने पहिलो पटक सार्वजनिक भएको छ ।

प्रदेश २ सरकारलाई समर्थन दिएको नेपाल कम्युनिष्ट पार्टीले भने यस विवाद बारे अझै पनि मुख खोलेको छैन । नेकपाका प्रदेश इञ्चार्ज तथा प्रदेश २ संसदका वरिष्ठ नेता सत्यनारायण मण्डलले मन्त्री र सचिवबीचको झगडालाई ‘प्रदेशलाई बदनाम गराएको दुखद घटना’को संज्ञा दिएका छन् ।

कान्तिपुरसंगको फोन सम्पर्कमा उहाँले भन्नुभयो, ‘यो घटना दुखद हो । प्रदेश सरकारले छानविन समिति गठन गरेको छ । समितिको प्रतिवेदन पश्चात पार्टीको आधिकारिक धारणा आउँछ ।’


प्रतिक्रिया