बाक्लो हिमपातले जनजीवत प्रभावित

माघ ९, २०७५ | म्याग्दी

म्याग्दीको उच्च हिमाली क्षेत्रका वस्तीहरुमा परेको बाक्लो हिमपातले जनजीवन प्रभावित भएको छ । बाक्लो हिमपातले पर्यटकीय क्षेत्र घोडेपानीमा पैदल आवतजावत बन्द भएको छ । हिमपातले जिल्लाको लुलाङ्ग, मुदी, कुईने, स्वाता, चित्रे, घोडेपानी लागायतका वस्तीको जनजीवन प्रभावित भएको छ ।

जिल्लाको उपल्लो क्षेत्रमा हिमपात भएकोले तल्लो क्षेत्रमा भने अत्याधिक चिसो बढेको छ । लामो खडेरीपछि हिमपातले कृषक भने खुशी छन् । ‘घोडेपानीमा करीब ६ इन्च हिउँ जमेको छ ।

पदमार्ग बाक्लो हिउँले ढाकिएकोले पर्यटक होटलमै थुनिएका छन्’ पर्यटन ब्यवसायी चित्र पुनले भने, ‘अधिक चिसोले पाईमा पानी जमेकोले खानेपानी अवरुद्ध छ ।’ 

त्यसैगरी, हिमपातबाट धौलागिरी गाउँपालिका, १ गुर्जा गाउँ अर्को वस्तीबाट पूर्ण विच्छेद भएको छ । ‘टुप्पीदेखि माथि ठाउँ छैन, गुर्जादेखि माथि गाउँ छैन’ उखानबाट परिचित गुर्जा पैदल तथा सञ्चार दुबै रुपमा सम्पर्कबिहीन भएको धौलागिरी गाउँपालिकाले जनाएको छ । 

जिल्लाको सबै भन्दा टाढाको यो गाँउ गुर्जा छन्त्याल जातीको सबैभन्दा ठूलो वस्ती हो । समुद्र सतहबाट ३ हजार २ सय २० मिटर उचाईमा अवस्थित गुर्जा गाउँको वार्षिक औसत तापक्रम ८ डिग्री सेल्सियस मात्र रहन्छ । एक सय ५२ घरपरिवारले बसोबास गर्ने गुर्जा गाउँ छन्त्याल जीवन, सभ्यता र संस्कृति हेर्ने सानो आँखी झ्याल पनि हो ।


प्रतिक्रिया