हिमपातपछि मुस्ताङ्गमा सुख्खा पहिरो

माघ ९, २०७५ | म्याग्दी

बाक्लो हिमपातपछि मुस्ताङ्गको घरपझोङ गाउँपालिका, २ छैरोमा पहिरो गएको छ । घरपझोङ गापा, १ मार्फा र २ छैरो बीचमा कालीगण्डकी नदीले बनाएको साँघुरो गल्छीमा गएको सुख्खा पहिरोले कालीण्डकी केही बेर अवरुद्ध भएको थियो ।

‘बिहान केही बेर कालीगण्डकी अवरुद्ध भएको थियो । अहिले नदी बगेको छ तर सानो ताल परेको छ । जोखिम भने छैन’ घट्ना स्थल रहेका प्रहरी निरिक्षक थमनबहादुर रजालीले भन्नुभयो, ‘नदी किनाराको अग्लो डिल मध्य २० मिटर जति भत्केर कालीगण्डकीमा खसेको हो ।’

बेनी–जोमसोम सडकको टुक्चे र मार्फा खण्डमा पर्ने सामग्री भन्ने ठाउँको पूर्वपट्टी पाखो बगेर नदीमा खसेको हो । पहिलो स्थल क्षेत्रमा अहिले १ फिट बढी बाक्लो हिउँ जमेको छ । भूकम्पपछि चर्किएको क्षेत्रमा बाक्लो हिमपात हुँदा पानी सिपेज भै पहिरो गएको स्थानीयले बताएका छन् । 

‘०७२ सालको भूकम्पपछि चर्किएको करीब ५ सय मिटर पाखोमध्य अहिले २० मिटर बढी नदीमा खसेको छ’ स्थानीय सकेन्द्र गौचनले भने, ‘हिमपात भईरहेको र पहिरोको आवाज नआएकोले पहिरोको समय थाहा भएन । बिहान हिउँ पर्न रोकिएपछि बल्ल पहिरो झरेको थाहा भयो ।’

कालीगण्डकी नदीले बनाएको साँघुरो गल्छीमा हिउँदे पहिरो गएकोले ठूलो जोखिम रहेन तर पहिरो झर्ने जोखिम बाँकी छन् । निलगिरी र टुक्चेपिक हिमालको बीच सबै भन्दा छोटो दूरीको बीचमा पर्ने हुँदा यस क्षेत्रमा बाक्लो हिउँ र बर्खा याममा पनि ठूलो पानी पर्ने गर्छ । 


प्रतिक्रिया