आफ्नै अपहरणको नाटक गर्ने युवक पक्राउ  

फाल्गुन ३, २०७५ | जनकपुर

आफ्नै अपहरणको नाटक गर्ने एक युवक जनकपुरबाट पक्राउ परेका छन् । भारतको पर्यटकीय स्थल गोवा घुम्न पैसाको जोहो गर्न भन्न भन्दै अपहरणको नाटक गर्ने जनकपुरधाम उपमहानगरपालिका १७ बेलौनीका २२ वर्षीय अजयकुमार साहलाई जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ गरेको हो ।

उनीसँगै प्रहरीले अन्य दुई जनालाई समेत नियन्त्रणमा लिएको छ । साहसंगै जनकपुरधाम २३ का २० वर्षीय समसाद नदाफ र रौतहट गढीमाई नगरपालिका ८ का २५ वर्षीय अरविन्द यादवलाई पक्राउ गरिएको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले बताउनुभयो ।

जनकपुरमा पत्रकार सम्मेलन गरी एसपी खनालले उनीहरुविरुद्ध सार्वजनिक हितविरुद्धको अभियोग अन्तर्गत मुद्दा चलाउने तयारी भईरहेको जानकारी दिनुभयो । राजकुमार साह र रेखा कुमारी साहका छोरा अजयकुमार आफै काठमाडौं फरार भएर आफ्ना दुबै साथी मार्फत आमाबुबालाई १५ लाख रुपैयाँ फिरौती माग्न लगाएका थिए ।

एसपी खनालका अनुसार अपहरणकारीले फिरौती माग्न प्रयोग गरेको मोबाइल नम्बरलाई ट्रेस गरी प्रहरीको विशेष टोलीले जनकपुर १६ पुलचौकबाट समसादलाई तथा समसादको सूचनाको आधारमा अरविन्दलाई पक्राउ गरेको थियो ।

एसपी खनालले भन्नुभयो, ‘हामीले दुबै युवकलाई फिरौती रकम प्राप्त भयो भनेर अजयलाई फोन गर्न लगायौं । त्यस पछि अजय काठमाडौंबाट जनकपुर आए र उनलाई पनि पक्राउ गर्‍यौं ।’

स्थानीयको सल्लाहमा पीडित रेखाकुमारी साहले जिल्ला प्रहरी कार्यालयमा छोरा अपहरण भएको निवेदन दिएकी थिईन । 

एसईई सम्मका पढाई गरेका तीनै युवक लागू औषधिका अम्मली रहेको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको छ । पढाई छाडेर घरमै बस्दै आएका अजय गोवा घूमफिर गर्न आफ्नै आमा बुबासंग पैसा असूली गर्न नक्कली अपहरणको नाटक रचेको थियो । 


प्रतिक्रिया