कांग्रेस कोइराला परिवारको विर्ता हैन : सभापति देउवा

फाल्गुन ८, २०७५ | वीरगन्ज

कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेस पार्टी कोइराला परिवारको विर्ता नभएको बताउनु भएको छ । वीरगन्जको नगर सभागृहमा आयोजित जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले पार्टी /कोइराला परिवारको विर्ता नभएको बताउनुभयो ।

चार दिन अगाडि मात्र जिपी कोइराला फाउन्डेशनको कार्यालय उद्घाटनका लागि वीरगन्ज पुगेका शशांक कोइराला, शेखर कोइराला र सुजाता कोइरालाले एउटै मन्चबाट कोइराला परिवार एक भएको उद्घोष गरेका थिए । उनीहरुले कोइराला परिवार एक ढिक्का भएको सन्देश दिएका थिए । कांग्रेसको नेतृत्वले वर्तमान राजनीतिक अवस्थामा आफूलाई सशक्त प्रतिपक्षको रुपमा उभ्याउन नसकेको भन्दै देउवाको आलोचना गरेका थिए ।

कार्यकर्तालाई सम्बोधन गर्दै देउवाले थर कोइराला छ भन्दैमा कांग्रेस पार्टीको सभापति बन्न पाउनु पर्ने तर्क नाजायज रहेको जीकिर गर्नुभयो । विपि र गिरिजा प्रसाद कोइरालाको योगदान भएपनि उनका छोरा/भतिजाको पार्टीमा कुनै योगदान नरहेको उहाँको भनाई थियो ।

पार्टीमा केही योगदान नगर्नेहरु कार्यकर्ताका बीच जथाभावी बोल्दै हिँडेकोमा देउवाले आक्रोश पोख्नुभयो । जथाभावी बोल्दै हिड्नेलाई पार्टीले कारवाही समेत गर्ने उहाँले चेतावनी दिनुभयो । पर्साका अधिकांश नेताले अन्र्तघातीकै कारण निर्वाचन हारेको गुनासो गरेका थिए । 


प्रतिक्रिया