कोरियाली संस्थाको सहयोगमा विद्यालय भवन

फाल्गुन ११, २०७५ | म्याग्दी

आगोलागीबाट ध्वस्त भएको म्याग्दीको एक आधारभुत तहको विद्यालय भवन दक्षिण कोरियाली संस्थाले निर्माण गरिदिएको छ । दुई वर्ष अघि आगोलागीबाट पूर्ण रुपमा ध्वस्त भएको बेनी नगरपालिका, ४ डाँडाखेत स्थित १–८ कक्षा सञ्चालित बाल मन्दिर आधारभुत विद्यायलयको १० कोठे पक्की आरसीसी विद्यालय भवन ‘ग्लोबल एजुकेसन फर अल फाउण्डेसन रिपब्लिक अफ साउथ कोरियाले निर्माण गरेको हो । 

भवन बनाउन संस्थाले ४० लाख रुपैयाँ खर्च गरेको छ । भवनको फिनिसिङ र रंगरोगनको काम सम्पन्न नभएकाले थप रकम आउन बाँकी रहेको विद्यालयले जनाएको छ । 

‘संस्थाले १० कोठे विद्यालयको पक्की भवन बनाउंछौं भनेपछि हामीले काम गर्दै गएका छौं, निर्माणको आधारमा संस्थाले ४० लाख रकम पठाएको छ । कति खर्च पठाउने भन्ने सम्झौता भएको छैन’ प्रधानअध्यापक रामप्रसाद शर्माले भन्नुभयो, ‘विद्यालय भवन संरचना बनेपनि अन्य भौतिक पूर्वाधार जुटाउन समस्या भएको छ ।’

विद्यालय भवन निर्माण गर्न विदेशमा रहेका म्याग्दीबासीले पनि छुट्टै ३५ लाख रुपैयाँ सहयोग गरेका छन् । बेनी नगरपालिकाले २६ लाख ५८ हजार रुपैयाँ बढी रकम अनुदान दिएको छ । विद्यालयले नयाँ भवन निर्माण गर्न थप जग्गा खरिद गर्न २२ लाख बढी खर्च गरेको र विद्यार्थी अनुपात आँकलन नगरी भवनमा कक्षा कोठा डिजाईन गरिएकोले लागत बढेको विद्यालयले जनाएको छ ।

यसैबीच,  म्याग्दी प्रवासी नेपाली संघ (मोना) युके र सयपत्री नेपाली कल्चर ग्रुप युकेले छुट्टै पठाएको एक लाख २५ हजार रुपैयाँ मोनाका सल्लाहकार शुवास श्रेष्ठले शुक्रबार विद्यालयलाई हस्तान्त्रण गरे ।

नयाँ भवन निर्माण भएपछि उच्च मावि र मावि तहलाई छुट्टाछुट्टै बनाएर अध्यापन गराउन र विद्यार्थीलाई फराकिलो कक्षा कोठामा बसेर पढ्न सजिलो भएको छ’ प्रअ शर्माले भन्नुभयो, ‘भवन त बन्यो सोही अनुरुपको शैक्षिक वातावरण बनाउन चुनौति थपिएको छ ।’


प्रतिक्रिया