देउवालाई डा. कोइरालाको जवाफ, ‘म को हुँ, मलाई हेक्का छ’ 

फाल्गुन १३, २०७५ | विराटनगर

- सभापति शेरवहादुर देउवा बहुमतको दम्भमा पार्टीको १४ औँ महाधिवेशन समयमा नगरी थप दुई वर्ष आफ्नो कार्यकाल थप्ने तयारीमा रहेको आरोप कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले लगाउनुभएको छ ।

विराटनगरमा आज विहान सञ्चारकर्मीहरुसँग उहाँले देउवाको कार्यकालय एक वर्षमात्र बाँकी रहेको उल्लेख गर्दै बहुमतको दम्भमा थप दुई वर्ष थप्ने रणनीतिमा रहेको दावी गर्नुभयो । 

कांग्रेस अहिले सांगठानिक रुपमा कमजोर भएको बताउँदै नेता कोइरालाले सभापतिले आफनो कार्यकाल थप गरे पार्टी झन् कमजोर हुने बताउनुभयो । कांग्रेस कोइरालाहरुको मात्र नभएको बरु सबैको योगदान र रगत बगाइबाट पार्टी बनेको उहाँको भनाई थियो ।

देउवाले ‘कांग्रेस कोइरालाहरुको बपौती नभएको’ भन्दै वीरगञ्जमा गरेको टिप्पणीबारे  नेता कोइरालाले भन्नुभयो, ‘म को हुँ भन्ने मलाई हेक्का छ, म मेरो राजनीतिक संस्कार छाड्न सक्दिन बरु कोइराला परिवारको संस्कारलाई अझ बरकरार राख्छु । देउवाले मेरो र कोइराला परिवारबारे जे बोल्नु भएको छ । त्यो उहाँकै राजनीतिक संस्कार होला ।’   


प्रतिक्रिया