चार वर्ष बिलौनामै बित्यो

चैत्र ८, २०७५ | दोलखा

- रोशन श्रेष्ठ दिनहुँ वडा कार्यालय धाउछन, नेतादेखि कर्मचारीसम्मलाई दुःखेसो पोख्छन् । भूकम्प गएको चार वर्षसम्म उनको दैनिकी सरकारले घर बनाउने पैसा देलाकी भन्नेमै बित्यो । २०७२ सालको भूकम्पले सांस्कृतिक सहर दोलखा बजारस्थित उनको ढुंगामाटाका घर गर्लम्मै ढल्यो । बस्ने ठाउँ नभएपछि टहरामा बस्न थाले ।

भूकम्पपीडितको सर्भेक्षण कार्यक्रममा उनले ढलेको घर नापजाँच गराए । तर लाभग्राही सूचीमा नाम निस्किएन । उनले गुनासोले भरिएको निवेदन दर्ता गराए । गुनासोको जवाफमा अन्यत्र घर भएको व्यक्ति भनेर रेकर्ड आयो । रोशन भन्छन, ‘सुकुम्वासी सरह गुजारा गर्दै आएको परिवारको काठमाडौंमा घर छ भनेर नाम प्रकाशित हुँदा अचम्म लाग्यो ।’

भीमेश्वर नगरपालिकाभित्रका लाभग्रही सूचीमा नाम छुटेका अधिकांश भूकम्प पीडितहरुले चारवर्षसम्म बिलौनामै बितेको गुनासो गरे । सम्बन्धित वडा कार्यालयहरुबाट वास्तविक भूकम्पपीडित भएको सिफरिसका आधारमा भेला भएकाहरुले त्यस्तो बताएका हुन् । भीमेश्वर नगरपालिका— ७ स्थित शान्तकुमार लामाले भने, ‘जग्गा पनि छैन, घर पनि छैन कसरी जीवन गुजार्नु ।’ सुकुम्बासी उनले राज्यबाट पाउने सुविधा नपाएपछि अरुको जमिनमा छाप्रो हालेर निकै कष्टपूर्वक गुजारा चलाइरहेको बताए ।

दोलखामा ८४ हजार भूकम्पपीडित भएको दावी परेको थियो । ७२ हजार लाभग्राही सूचीमा परे भने बाँकीको पहिचान भएन । लाभग्राही सूचीमा नाम नपरेर पीडित भएको गुनासो गर्नेहरुमध्ये अझै छ हजार पीडामै छन् । अन्यत्र घर भएको, पुरानो घर बस्न मिल्ने भएको जस्ता जवाफ आएकाले उनीहरु अझै घर बनाउने सरकारी अनुदान पाउने सुविधाबाट बञ्चित भइरहेका हुन् ।

 दोलखा बजारका अधिकांशका अन्यत्र घर छन् । ‘त्यस्ताको त सूचीमा नाम परेको छ, तर हामी वास्तविक पीडितको भने नाम नै निस्किएन,’ भीनपा— २ का जगतकुमार श्रेष्ठले भने, ‘काठमाडौं सात तले घर हुनेको पनि लाभग्रहीमा नाम परेपछि तीन लाख खाइसके । कहीँ घर नभएको मेरो पनि अन्यत्र घर भएको भनेर आयो ।’ हालसम्म टहरामा वस्दा किराले टोकेर वच्चा विरामी भएपछि काठमाडौंमा लगेर उपचार गर्नु परेको गुनासो गर्दै अन्यत्र घर भएको भए त्यही सर्थेँ ।’

भीमेश्वर नपा वडा नं. ६ का शान्तिप्रसाद न्यौपानेको पुराना घरहरु भूकम्पले बस्न नहुने भयो । एकजना प्राविधिकले जाँच्दा बस्न नहुने घर भन्यो । अर्को प्राविधिकले जाँच्दा त्यही घरलाई वस्न योग्य भनेर सिफारिस गरेछ । त्यस्तै दोधारे जाँचले भूकम्पपीडितले पाउने आवास निर्माण वापतको सुविधाबाट बञ्चित भएको उनले सुनाए ।

भूकम्प गएका बेला भीनपा— ७ का एकजना व्यक्ति जेलमा रहेछन् । उनको कोही नभएकाले त्यतिखेर भत्किएको घरको नापजाँच भएन । परिवारका अन्य सदस्य र घरवास नभएका उनको नाम छुटेको गुनासो छ । त्यहीका लालवहादुर वस्नेतलाई पहिले आउने प्राविधिकले घर भत्काउने पर्दैन राम्रो छ भनेर गयो, अर्कोले भत्काइ हाल्नु भन्यो । उनले घर भत्काएर नयाँ वनाए तर सरकारी अनुदान भने आएन ।

लिलामाया विक ६० बर्षका एकल महिला हुन । उनको पनि नाम छुटेपछि टहरामा गुजारा गर्दै आएको बताइन् । भीनपा ६ की माया लामाले तीन पटक गुनासो गर्दा पनि नाम किन नआएको होला भनेर जिज्ञासा गरिन । दिनहुँ जसो गुनासो लिएर आउनेहरुको समस्या समाधन होला की भनेर वडा अध्यक्षहरुले पठाइदिएका भूकम्पफीडितहरुसँगको संवाद कार्यक्रममा ४२ जना व्यत्तिहरुले आफुलाई  मर्का परिरहेको बताएका थिए ।

उनीहरुको जिज्ञासापछि राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वय इकाई जिमालीका टिका जोशीले पीडितहरुलाई न्याय पाउने केही उपाए बताइदिएका थिए । उनले यहीँ चैतको १७ गतेदेखि पुर्नजाँचका खटिने प्राविधिकहरुलाई फेरि आफ्नो भत्किएका वा भत्काइसकेका घरका बारेमा जानकारी गराउन सुझाएका थिए ।

 


प्रतिक्रिया