ओली सरकार लोकतन्त्र विरोधी : नेता पौडेल

चैत्र १४, २०७५ |  जनकपुर

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले शुक्रबारदेखि हुन लागेको लगानी सम्मेलनको वातावरण बनाउन सरकार असफल भएको बताउनु भएको छ । नेपाल प्रेस युनियन धनुषाले बिहीबार आयोजन गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, ‘लगानी सम्मेलन सफल होस् । मुलुकमा लगानी भित्रियोस भने हाम्रो चाहना छ तर, सरकारले लगानीको वातावरण भने बनाउन सकेको छैन ।’

वरिष्ठ नेता पौडेलले लगानीकर्ताको पुँजी, शान्ति सुरक्षा तथा लाभको सुनिश्चिता गर्नु सरकारको दायित्व भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘सरकार यी विषयहरुलाई गम्भीरतापूर्वक लिईदिए राम्रो हुन्थ्यो । मुलुकमा लगानी आए सबैका लागि राम्रो हो ।’

कम्युनिष्ट नेतृत्वको दुई तिहाई बहुमतको सरकार मुलुकमा उद्योग संचालन गर्न नसकेको भन्दै ऊहाँले आक्रोश व्यत्त गर्दै भन्नुभयो, ‘कम्युनिष्टहरु निजीकरणको विरोध गर्थे । सरकारले पनि उद्योग संचालन गर्नु पर्दछ भन्थे तर एक वर्षमा एउटै कारखाना खुलेन न त बन्द उद्योग धन्धा सञ्चालन नै भए ।’

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार केन्द्रिकृत राज्य सत्तालाई निरन्तरता दिन खोजेको आरोप लगाउँदै उहाँले संघीय सरकार प्रदेश र स्थानीय सरकारलाई अधिकार प्रत्योजन गर्न नचाहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘कम्युनिष्टलाई संघीयता चाहिएको छैन । निरंकुश सत्ता चाहिएको छ । यसै मनसायले लोकसेवा आयोग, अख्तियार, सेना लगायतका सम्पूर्ण निकाय प्रधानमन्त्री आफ्नै मातहातमा राख्न खोज्दै छन् ।’

सरकारले वाईडबडी खरिदमा भएको अनियमितताको छानविन गर्न नचाहेको आरोप लगाउँदै नेता पौडेलले संसदीय समिति समेतले अनियमितता भएको ठहर गरी सकेको अवस्थामा पनि सरकार चुप लागेर बसेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘लाउडा केसमा कम्युनिष्टहरु हंगामा गरे । हड्ताल गरे । अख्तियारले पनि तत्परता देखाए अनि वाइडबडी खरिद प्रकरणमा यी निकायहरु किन मौन छन् ?’ 


प्रतिक्रिया