आलोचनाले सरकारको रफ्तार कम हुँदैन ः  प्रधानमन्त्री 

रेडियो कान्तिपुर संवाददाता

वैशाख ७, २०७६ | काठमाडौं

- प्रधानमन्त्री केपी ओलीले देश अब विकासको बाटोमा अगाडि बढेको दाबी गर्दै विरोध र आलोचनाले खासै असर नगर्ने बताउनुभएको छ ।  बुटवलमा आज जीतगढी विजय उत्सव समारोहमा उहाँले कसैले विरोध वा आलोचना गर्दैमा सरकार आफ्नो रफ्तारबाट पछाडि नहट्ने बताउनुभयो । संविधानपछि संघीयताअनुसार बनेका ३ तहका सरकारले पहिलो वर्षमा आवश्यक कानुन निर्माण, कर्मचारी समायोजन र संरचना निर्माण गरेको उल्लेख गर्दै उहाँले सकारात्मक सोचको आवश्यकताले नै मुलुकलाई समृद्धी उन्मुख गराउने बताउनुभयो ।

नेपाल कब्जा गर्न आएका अंग्रेज फौजलाई हराएको जीतगढी किल्लाको चर्चा गर्दै उहाँले अब देशभरका गढी र किल्लाको संरक्षण र संवर्द्धनमा सरकारले ध्यान दिने समेत बताउनुभयो ।  रक्षा तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले विकासमा पक्ष- विपक्ष नहुने भन्दै इतिहासको खोजी र संरक्षणलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभयो ।  प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले जीतगढीलाई सम्पदा सूचीका रुपमा अगाडि बढाएको उल्लेख गर्नुभयो । 


प्रतिक्रिया