एकै दिन ३१ आरोही अन्नपूर्ण चुचुरोमा

वैशाख ११, २०७६ | म्याग्दी

म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा अवस्थित अन्नपूर्ण प्रथम हिमालको एकै दिन ३१ जनाले आरोहण गरेका छन् । बेलायती सेनाको जागिर छोडेर ७ हजार मिटर अग्ला संसारका सबै १४ हिमाल आरोहण गर्न ‘प्रोजेक्ट पोसिवल १४÷७’ मिसनमा निक्लेका आरोही निर्मल पुर्जा सहित ३१ जना आरोहीले मंगलवार दिउँसो ३.५० बजे उत्तरपश्चिम मोहडाबाट सफल आरोहण गरेको छ ।

आरोहण ब्यवस्थापन गरेको सेभेन समिट ट्रेकर्सका अनुसार यस सिजनको पहिलो आरोहण टिमले संसारको दशौं ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम (८०९१मी) समिट गर्नेमा नेपाली १७ जना, चिनियाँ ४ जना, जापानी २, अमेरिकी, नेर्वे, मलेशिया, रसिया, स्वीजरल्याण्ड, बेलायती, दक्षिण केरियाली, टर्कीका १–१ जना रहेका छन ।

थप ५ जना बढी आरोहीहरु अन्नपूर्ण हिमालको उत्तरपश्चिम मोहडाको बेस क्याम्पमा अनुकूल मौसमको प्रतिक्षामा रहेको पनि कम्पनीका डाईरेक्टर छिरिङ दावा शेर्पाले बताउनुभयो ।

अन्नपूर्ण प्रथम हिमाल म्याग्दीको अन्नपूर्ण गाउँपालिका, ४ मा अवस्थित छ भने आरोही निर्मल पुर्जा अन्नपूर्ण गाउँपालिका, ३ दानाका बासिन्दा हुन् । 


प्रतिक्रिया