एसईईको उत्तरपुस्तिका परीक्षण कार्य अझै सुरु भएन

रेडियो कान्तिपुर संवाददाता

वैशाख १७, २०७६ | काठमाडौं

गत चैत्र १० गते सुरु भएर २१ गते सम्पन्न माध्यमिक शिक्षा परीक्षा एसईईको उत्तरपुस्तिका परीक्षण कार्य अझै सुरु हुन सकेको छैन । परीक्षा नियन्त्रण कार्यालय सानो ठिमीका परीक्षा नियन्त्रक विष्णु अधिकारीले उत्तर पुस्तिकाको कोडिङ, डिकोडिङ नै नसकिएको भन्दै परीक्षण सुरु हुन नसकेको जानकारी दिनुभयो ।

जनशक्तिको अभावमा अझै २ वटा जिल्लाको कोडिङ कार्य बाँकी रहेको उहाँको भनाई छ । केही दिनभित्रै कोडिङ, डिकोडिङ सकेर परीक्षण सुरु गर्ने उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार परीक्षा नियन्त्रण कार्यालय सानोठीमी बाहेक विभिन्न ५९ वटा परीक्षण केन्द्रबाट उत्तरपुस्तिका परीक्षण गरिनेछ ।

यस पटकको परीक्षामा अन्तर प्रदेश विषयगत परीक्षा लिएकाले पनि सोही अनुसार परीक्षण हुने उहाँको भनाई छ । एउटा प्रदेशको उत्तरपुस्तिका अर्को प्रदेशमा परीक्षण गर्ने तयारी रहेको नियन्त्रक अधिकारीले बताउनुभयो । विभिन्न ५९ केन्द्रबाट सम्बन्धित विषयका शिक्षकलाई उत्तरपुस्तिका परीक्षण गर्न दिने उहाँले जानकारी दिनुभयो । 

प्रश्नपत्र बाहिरिएर पछि सारिएको प्रदेश २ का उत्तरपुस्तिका पनि संगसंगै परीक्षण गर्ने तयारी रहेको पनिकाले जनाएको छ । परीक्षा सकिएको एक महिना बितिसक्दा पनि परीक्षण कार्य शुरु नहुँदा परीक्षाफल पछि धकेलिने देखिएको छ । 


प्रतिक्रिया