सर्वोच्चको न्यायाधीशमा प्रस्तावित न्यायाधीश र न्याय परिषद् सदस्यविरुद्ध ७ वटा उजुरी

असार १२, २०८२ | काठमाडौं

सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित तीन न्यायाधीश र न्याय परिषद्का एक सदस्यविरुद्ध संसदीय सुनुवाई समितिमा ७ वटा उजुरी परेका छन् । न्याय परिषद्को सदस्य पदमा प्रस्तावित महेशकुमार नेपालमाथि ५ वटा उजुरी परेका छन् भने अन्य दुई वटा उजुरी भने प्रस्तावित न्यायाधीश उपरका छन् । सिंहदरबारमा बसेको संसदीय सुनुवाई समितिको बैठकमा समिति सभापति ईश्वरीदेवी न्यौपानेले सो उजुरीबारे जानकारी दिनुभएको हो । सर्वोच्च अदालतको न्यायाधीश पदमा प्रस्तावित मेघराज पोखरेल, श्रीकान्त पौडेल र शान्तिसिंह थापाको नाम प्रस्ताव भएको छ भने न्याय परिषद्को सदस्य पदमा महेशकुमार नेपालको नाम प्रस्तावित छ । सबै उजुरीकर्तालाई भोलिको बैठकमा बोलाएर जानकारी लिने तयारी भएको समिति सभापति न्यौपानेले बताउनुभयो । त्यस्तै, असार १५ गतेको समितिको बैठकमा प्रस्तावित न्यायाधीश पोखरेल, पौडेल र थापाका कार्ययोजना प्रस्तुति गरेर थप प्रक्रिया अघि बढाइने भएको छ ।   


प्रतिक्रिया