द्वन्दले अवरुद्ध कालिञ्चोक केबल कार २७ घण्टापछि  सञ्चालन

जेष्ठ ६, २०७६ | दोलखा

स्थानीयले विरोध पछि बन्द भएको कालिञ्चोक केबल कार २७ घण्टापछि सञ्चालनमा आएको छ । धार्मिक तथा प्राकृतिक स्थल कालिञ्चोक क्षेक्रमा केबल कारले काँडे तार लगाएर जग्गाहरु कब्जा गर्दै गएको र रेष्टुरेन्ट सञ्चालनमा ल्याएको आत्रोशमा स्थानीयले शनिबार बन्द गराएको हो । जिल्ला समन्वय समिति, कालिञ्चोक गाउँपालिका र प्रशासनको प्रयासमा आइतबारबाट केबल कार सञ्चालनमा ल्याइएको हो । 

केवल कारले लगाएको काँडे तारका पोलहरु उखेलिएको छ । केबल कार चढेर गएपछि मन्दिर नजिकै राखिएको रेष्टुरेन्ट तोडफोड भएको छ । स्थानीय होटल व्यवसाय सञ्चालन गर्नेहरुले गरिएको सो आक्रमणबाट केबल कारलाई ठूलो क्षति पुगेको कालिञ्चोक दर्शन प्रालिका अध्यक्ष बालकृष्ण शिवाकोटीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘अरुहरुले गरेजस्तै गरी केबल कारले व्यापार गर्न पनि असुरक्षित भयो ।’ 

केबल कार र विभिन्न व्यक्तिले कालिञ्चोकमा संरचनाहरु बनाउने क्रम पछिल्ला समयमा बढेको छ । आजभन्दा १५ वर्षअघिसम्म एक दर्जन छाप्रा र केही चौरी गोठ भएको सो क्षेत्रमा अहिले सानाठूला एकयस बढी घर र टहराहरुले भरिएका छन् ।

जथाभावी बनाइएका संरचनाले कालिञ्चोकको कुरुप बन्दै गएको छ । पर्यावरणीय समस्या थपिँदो छ । डोजर चलाइदा घाँसे मैदानहरु छियाछिया भएको छ । दोलखा सदरमुकामबाट १७ किलोमिटर दूरीमा रहेको तीन हजार आठ सय ४२ मिटर अग्लो कालिञ्चोक क्षेत्र धर्म र प्राकृतिक दृष्टिले महत्व ठानिन्छ ।

धर्मकर्म गर्ने र प्राकृतिक सुन्दरतामा रमाउन बार्षिक लाखौं मानिस उक्त क्षेत्र पुग्छन् । जोडो मौसममा हिमपात हुने, मौसमअनुसार गुराँस लगायत विभिन्न जातका फूलहरु फुल्ने उक्त क्षेत्रको विशेषता हो । सूर्योदय र सूर्यस्तको मज्जा लिन सक्ने उक्त क्षेत्रबाट रोल्वालिङ र लाङटाङ हिमश्रृङ्खला देखिनाले पनि मानिसहरु त्यहाँ पुग्छन् ।

हिन्दू बौद्धमार्गीहरुको साझा थलो कालिञ्चोक मन्दिर क्षेत्र पुग्नका लागि बनाइएको एक किलोमिटर दूरीको केलब कार निर्माणपछि उक्त क्षेत्रमा मानिसहरुको थप भीड लाग्ने गरेको छ । वनको जग्गा गुठी संस्थानले लिएपछि उक्त केबल कारलाई २ दशमलव ४ हेक्टर अर्थात ५० रोपनी भन्दा बढी जग्गा लिजमा दिएको छ ।

अन्य ४० वटा व्यवसाय सञ्चालनका लागि गुठीले मासिक स्वायर फुटका आधारमा भाडा लिने गरी लिजमा दिएको छ । त्यो बाहेक थप पचास वटा भन्दा बढी व्यवसाय अनाधिकृत रुपमा सञ्चालनमा छ । 

पछिल्लो समयमा केबल कारले लिएको जग्गामध्ये २५ रोपनी जति क्षेत्रभित्र सुरक्षाका निम्ती कम्पाउण्ड लगाउन थालिएको केबल कारको दावी छ ।

अरुले गरेजस्तै कफि र भेज मम बेच्ने होटल चलाए बापत केबल कारमाथि आक्रमण हुनु दुःखद भएको केबल कारका अध्यक्ष शिवाकोटीले बताउनुभयो । कालिञ्चोक क्षेक्र अतित्रमणको मारमा पर्दै गएपछि स्थानीय प्रशासनले यसअघि नै थप संरचना बनाउन नपाउने सूचना जारी गरेको थियो । जिल्ला संवाद समूहको पयत्नमा भएको संवाद कार्यक्रममा थप संरचना नबनाउने र बनाउन नदिने स्थानीयहरु पनि राजी भएका थिए । केबल कारको कम्पाउण्ड लगाउने कार्यलाई प्रशासनको सूचना माथि अवज्ञाको रुपमा स्थानीयको बुझाइ छ । 

कालिञ्चोक क्षेत्रमा व्यावयास फस्टाउन थालेपछि सामुदायिक बन क्षेत्र आधार प्रमाणहरु पेश गर्दै गुठीले लिएको हो । उक्त क्षेत्रमाथि उक्त दुवै सरकारी निकायबीच स्वामित्व दाबी गर्दै विवाद कायमै छ । 


प्रतिक्रिया