सिठी नखः पर्व मनाइयो

जेष्ठ २६, २०७६ | काठमाडौं

काठमाडौं उपत्यकाका नेवार समुदायले इनार, ढुंगेधारा, कुवा लगायत खानेपानीको स्रोत सरसफाइ गरेर शनिबार सिठी नखः चाड मनाएका छन् । चाड ग्रीष्म र वर्षा ऋतुको मध्यकालमा मनाइन्छ । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल षष्ठीको दिन मनाइने चाडमा महादेवको जेठो छोरा कुमार कार्तिकेय जन्मेको दिन हुनाले यस दिनलाई कुमार षष्ठी पनि भनिन्छ ।

कुमारलाई मास, मुङ र साना केराउको बारा, चतामह्री, र चौमह्री चढाई पूजाआर्चना गरिन्छ । देवाली मनाउन नपाएकाहरु यस दिन कुलदेवताको पूजा गर्न जान्छन् । रामायणका अनुसार रामले लंकाका राजा रावणको वध गरेको दिन पनि हो । चाडमा कमलको फूलमा चामलको पिठोको रोटी, मास, केराउ र मुगीको बारा, चटामरी (एक किसिमको रोटी) खाने चलन छ ।

ज्योतिषी कीर्तिमदन जोशीका अनुसार, ‘यो चाड लिच्छविकालदेखि मनाउने परम्परा सुरु भएको जनविश्वास छ । नखः ले परापूर्वकाल देखि पानीका मुहान सधैं सफा राख्नुपर्दछ, विशेष गरी वर्षाको बेला पानीका मुहान बढी दूषित हुने भएकाले सफा गरिनुपर्दछ भन्ने सन्देश दिन खोजेको छ ।’

उहाँले प्राचीन कालमा सबै नागरिक मिलेर नगरको गढ, किल्लाको पर्खाल आदिको मर्मत तथा सफाइ गर्ने चलन रहेको बताउनुभयो । चाडमा नगरको गढ, किल्ला, पर्खाल इत्यादिको मर्मत तथा सफाइ गर्नुपर्ने परम्परा रहेको भक्तपुर दरबार क्षेत्रको बाहिरी भित्तामा नेपाल संवत् ५ सय ७३ मा राजा यक्ष मल्लले राखेको ताम्रपत्रमा उल्लेख छ । यसलाई वर्षभरिकै अन्तिम पर्वका रुपमा पनि लिइन्छ । 

पर्वसँगै वर्षा सुरु हुने र किसानको वर्षको महत्वपूर्ण कार्य सिन्या ज्याः (धान रोपाइँ) सुरु हुने पर्वका रुपमा समेत लिने गरिन्छ । यस दिन बारा लगायतका परिकार खानाले शरीरमा तागत उत्पन्न हुने र बर्खायाममा धान खेती गर्न बल पुग्ने जनविश्वास छ ।

बिहान नुहाई धुहाई गरेर शुद्ध भई नवदुर्गा भवानी र शक्तिपीठहरुको पूजा गर्ने चलन छ । पर्वको अवसमा काठमाडौं र ललितपुर महानगरपालिकाले कार्याक्रम आयोजना गरेका छन् । 


प्रतिक्रिया