खानेपानी मन्त्रालयले मेलम्चीका स्थानीयलाई वार्तामा बोलायो

कार्तिक २१, २०८२ | काठमाडौं

स्थानीयले मेलम्चीको खानेपानीको आपूर्ति बन्द गरिदिएपछि खानेपानी मन्त्रालयले मेलम्ची खानेपानी संघर्ष समितिलाई आज वार्तामा बोलाएको छ  ।

मन्त्रालयले समस्या समाधानकालागि उनीहरुलाई वार्तामा बोलाएको हो ।

गत वर्ष भएको सहमति कार्यान्वनयकै चरणमा रहेका वेला स्थानीयले खानेपानीको आपूर्ति बन्द गरिदिएपछि काठमाडौंमा पानी आपूर्ति बन्द भएको छ ।

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका बासिन्दाले एक वर्षअघि खानेपानी मन्त्रालयसँग भएको सहमति कार्यान्वयन नभएको भन्दै अम्बाथाङस्थित मुहान बन्द गरिदिएका हुन् ।

दैनिक २० करोड लिटर खानेपानी काठमाडौंका लागि सुन्दरीजलतर्फ पठाउने मुहान थुनेर मेलम्ची खोलामै फर्काइदिएपछि राजधानीमा पानीको समस्या भएको छ ।

स्थानीयले मोटरेबल सडक निर्माणसहित अन्य भौतिक पूर्वाधार विकासको माग राख्दै आएका छन् ।

खानेपानी सचिव प्रमिलादेवी बज्राचार्यले यो विषय खानेपानी मन्त्रालयसँग मात्र नभई अर्थ, भौतिक पूर्वाधार र ऊर्जा मन्त्रालयसँग पनि जोडिने भएकोले समन्वय भइरहदा स्थानीयले पानीको मुहान नै बन्द गरिदिएपछि छलफलका लागि सरोकारवालालाई वार्तामा बोलाइएको जानकारी दिनुभयो । 


प्रतिक्रिया