प्रहरीलाई घूस रकम दिने चल्ला व्यापारी पक्राउ

श्रावण २९, २०७६ | वीरगञ्ज

प्रहरीलाई घूस दिने वीरगञ्जका एक कुखुरा चल्ला व्यापारीलाई इलाका प्रहरी कार्यालय जीतपुरले नियन्त्रणमा लिएको छ । मंगलबार राति ८ बजे प्रहरी कार्यालय पुगेका वीरगञ्ज महानगरपालिका २२ मनियारी निवासी उपेन्द्र यादवले प्रहरीलाई चल्लाको कारोबारमा अवरोध नपुर्‍याइदिन भन्दै १० हजार रुपैयाँ दिएका थिए ।

कार्यालय प्रमुख प्रहरी नायव निरीक्षक सागर शम्शेर राणाले यादवलाई नगद रुपैयाँ सहित नियन्त्रणमा लिएको बताउनुभयो । यादवलाई हिरासतमा राखि थप अनुसन्धान थालिएको छ । अवैध कारोबार निर्वाध रुपले गर्नका लागि कारोबारीले प्रहरीलाई निश्चित रकम बुझाएपछि यस्तो कुरा बाहिर आएको हो । बाराका प्रहरी उपरीक्षक सानुराम भट्टराईले प्रहरीलाई पैसा दिएर प्रभाव पार्न खोजेका व्यापारी यादवलाई नियन्त्रणमा लिएको बताउनुभयो । 

‘तपाईहरुले पैसा नलिएपनि अरुले लिइ हाल्छन्, हामी अर्कै तरिकाले पनि कारोबार गर्न सक्छौ,’ यादवलाई उदृत गर्दै एसपी भट्टराईले भन्नुभयो, ‘पैसा नलिएपछि यादवले अभद्र व्यवहार समेत प्रदर्शन गरेका छन् ।’  

नेपालमा कुखुराको चल्लाको मूल्य बढी पर्ने भएकाले कारोबारीले भारतीय चल्ला भित्र्याउने गरेका छन् । भारतीय कुखुरा र चल्ला नेपाल आयातमा प्रतिबन्ध लागेको भएपनि कारोबारीले सीमामा खटिएका प्रहरीको मिलेमतोमा सजिलै भित्र्याउने गरेका छन् ।

भारतीय बजारबाट साइकल र मोटरसाइकलमा भित्र्याइएका चल्ला वीरगञ्ज र आसपासका क्षेत्रबाट गाडीमा लोड गरी विभिन्न सहरमा पुर्‍याउने गरिएको छ । एक कारोबारीका अनुसार ब्रोइलर कुखुराको मूल्य भारतमा २४ रुपैयाँ देखि ४० रुपैयाँ सम्म पर्छ । त्यही चल्ला नेपालमा ल्याउँदा ७० रुपैयाँमा बिक्री हुन्छ । 

‘यसैगरी, लोहाटन प्रजातीका चल्ला भारतमा ४८ रुपैया पर्छ,’ ती कारोबारीले भने, ‘लोहटनको चल्ला नेपालमा ८५ रुपैयाँमा बिक्री हुन्छ ।’ लोकल कुखुरा जस्तै देखिने लोहटन कुखुरा नेपालमा कम पाइने भएकाले मूल्य बढी पर्छ । गाडीको एक खेपमा कारोबारीले खर्च कटाएर दुई लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेका छन् ।

त्रिभुवन राजमार्गको वीरगञ्ज–पथलैया सडक खण्ड अन्तर्गत पर्ने जीतपुर प्रहरी चौकी भारतीय सीमानाबाट करीब २५ किलोमिटरको दूरीमा छ । जीतपुर प्रहरी चौकी राजमार्गमा पर्ने बारा प्रहरीको पहिलो चेक पोस्ट हो । त्यहाँसम्म पुग्न पर्सा प्रहरीको आधा दर्जन चेक पोस्ट पार गर्नुपर्छ । सम्बन्ध स्रोतका अनुसार पर्सा प्रहरीबाट लाइन पाइसकेपछि यादव बारा पुगेका थिए । 


प्रतिक्रिया