अबको अभियान सुशासन र विकासमा केन्द्रित : प्रधानमन्त्री 

रेडियो कान्तिपुर संवाददाता

भाद्र १, २०७६ | काठमाडौं

- प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको अबको अभियान सुशासन र विकासमा केन्द्रित हुने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले त्यसका लागि सरकारले कठोर कदम चाल्ने बताउनुभयो ।

जनताको सेवालाई मुख्य केन्द्रमा राखेर सरकारले सुशासन र विकासलाई संगै अघि बढाउन सम्बन्धीत निकायको क्षमता अभिबृद्धि गर्दै प्रभावकारी अनुगमनलाई जोड दिने उहाँको भनाई थियो ।  

विगतका प्रतिवद्धता अनुसार नै आफुहरु अघि बढिरहेको भन्दै प्रधानमन्त्री ओलीले विकासका आधार वर्षमा पनि सरकारले लक्ष्य अनुरुपकै प्रगति हासिल गरेको दाबी गर्नुभयो । पहिलो बर्षलाई आधार वर्षका रुपमा चित्रण गर्दै आएका प्रधानमन्त्री ओलीले आलोचनालाई स्वागत गर्ने तर आलोचनाको नाममा प्रतिगमनलाई समर्थन गर्ने कुरालाई भने स्वीकार गर्न नसक्ने उल्लेख गर्नुभयो । 

केन्द्र र प्रदेशबीचको समन्वयलाई मजबुत बनाउदै सन्तुलित विकासको अवधारणामा सरकार दृढ रहेको प्रधानमन्त्री ओलीको भनाई छ । समझदारीपुर्ण रुपमा नयाँ प्रणाली पहिलो बर्षमै उपयोग हुनु आफैमा गौरवको बिषय भएको भन्दै उहाँले त्यसलाई थप गति दिन सरकार प्रतिवद्ध भएको उल्लेख गर्नुभयो । सबैले मिलेर ल्याएको प्रणालीलाई बलियो बनाउन सबैको ध्यान जान आवश्यक रहेको भन्दै उहाँले यसमा भएका कमी कमजोरीलाई सच्चाएर लोकतन्त्रको रक्षाका लागि सबै दल एक हुनुको विकल्प नभएको बताउनुभयो । 

फरक प्रसंगमा प्रधानमन्त्री ओलीले प्राकृतिक प्रकोपले मुलुकका बिभिन्न स्थानमा ठुलो समस्या पुर्‍याएको भन्दै प्रभावित स्थानमा राहत तथा पुनर्स्थापनाको कार्यमा सरकारले बिशेष ध्यान दिने बताउनुभयो ।  

 


प्रतिक्रिया