भाइरल ज्वरोले गाउँभरी बिरामी 

भाद्र १२, २०७६ |  कालीकोट 

कालीकोटको खाडाचक्र नगरपालिकामा भाइरल ज्वरोको प्रकोप फैलिएको छ । खाडाचक्र नगरपालिकामा वडा नम्बर २ को मेग्र, कायगडा, पोरिपाल्नी, वडा नम्बर ३ र ४ को ताडी लगायतका गाउँमा मौसमी भाइरल ज्वरो फैलिएको छ ।

ज्वरोले घर घरमा बिरामी परेको खाडाचक्र २ का वडाध्यक्ष विर्षसिंह विश्वकर्माले बताउनुभयो । उहाँकाअनुसार सबैभन्दा बढी मेग्र गाउँमा ज्वरोका बिरामी भेटिएका छन् । एकै घरका ९ जनासम्म ज्वरोले सिकिस्त छन् । खाडाचक्र २ का राजमुकार मल्लका ६ वर्षीया छोरी रासनीको मृत्यु भइसकेको छ । उनी मान्मस्थित बाल विकास इगलिस बोडिंग स्कूलको नर्सरी कक्षामा पढ्थिन् । ३ दिनको ज्वरोले बुधबार घरमै उनको मृत्यु भएको हो । 

कडा ज्वरो आउने, टाउको दुख्ने, घाँटी दुख्ने, खाना निल्न कठिनाई हुने, बान्ता हुने लक्षण रहेको ज्वरोका बिरामी दैनिक रुपमा जिल्ला अस्पताल आउने गरेको अस्पताल प्रमुख डा. भिष्म पोख्रेलले बताउनुभयो । ‘ज्वरो कडा खालको छ ।’ डा. पोख्रेलले भन्नुभयो, ‘एक सय १ डिग्री भन्दा ज्वरो आएका बिरामी अस्पताल आएका छन् ।’ उहाँले भाइरल ज्वरो फैलिएको एक साता पुगिसकेको सुनाउँदै पुराना बिरामीलाई ज्वरो निको भएपनि नयाँ बिरामी थपिंदै गएको बताउनुभयो । 

अस्पताल भर्ना भएको चार दिन भएपनि बिरामी निको नभएको खाडाचक्र २ की २१ वर्षीया सरिता विश्वकर्माले बताइन् । उनका दुई वर्षीय छोरा किरण पनि बिरामी छन् । अस्पतालको औषधीले ज्वरो कम भएपनि टाउको दुख्ने र बान्ता हुने क्रम नरोकिएको उनले सुनाइन् ।

जिल्ला अस्पताल भर्ना भएको ४ दिन भइसक्दा पनि ज्वरो ठिक नभएको शुभकालिका २ भर्ताकी सरस्वती शाहीले बताइन् । उनी एक महिने छोरासहित जिलला अस्पताल आएकी हुन् । भाइरल ज्वरोका बिरामी शुभकालिका गाउँपालिका, सान्नीत्रिवेणी, पचालझरना, पलाता लगायतका ठाउँबाट पनि जिल्ला अस्पतालमा आउने गरेको अस्पताल प्रशासनले जनाएको छ । 


प्रतिक्रिया