गुणस्तरहीन काम भएको भन्दै स्थानीयले रोके निर्माण कार्य  

भाद्र १७, २०७६ | जनकपुर 

जानकी मन्दिर सौन्दर्यीकरण क्रममा गुणस्तरहीन काम भएको भन्दै स्थानीय युवाहरुले निर्माण कार्यमा रोक लगाएको छ । मुख्यमन्त्री स्वक्षता अभियान अन्तर्गत सञ्चालित जानकी मन्दिर सौन्दर्यीकरण आयोजना निर्माणको क्रममा गुणस्तरहीन काम भई रहेको भन्दै स्थानीय युवाहरुले हाललाई निर्माण कार्यमा रोक लगाएको हो । 

आयोजना अन्तर्गत हाल मन्दिरको बाहिरी प्राङणमा ढल निकाससँगै मार्वल जडान कार्य भई रहेको छ । ठेकेदारले प्रयोग गरिरहेको मार्वल कमसल भएको तथा ढल निकासको लागि ह्युम पाईप जडान गर्नुपर्ने स्थानमा सानो पाईप जडान गरिएको भन्दै युवा अभियन्ताहरुको काममा रोक लगाएका हुन् ।

मन्दिरको दक्षिण भागमा रहेको शौचालय तथा भोजनालयबाट निस्किने फोहर मैला सफाई नै नगरी पाईप जडान र पीसीसी गरिएको छ । प्रयोग झई रहेको मार्बल हातले छुँदा समेत टुक्रा टुत्रा हुन्छ । गुणस्तहिन काम गरेको भन्दै तत्काल रोकेर छानविन हुनु पर्ने युवा अभियन्ता सुशील कर्णले बताउनुभयो । 

अर्का अभियन्ता सरोज मिश्रले भन्नुभयो, ‘जानकी मन्दिर विश्व भरिकै हिन्दूहरुका लागि आस्थाको केन्द्र हो । यसको सौन्दर्यीकरणमा प्रयोग भएको सामग्रीहरु कमशल हो भने हाम्रो ठहर हो । गुणस्तर जाँच गरेरमात्र निर्माण कार्यलाई निरन्तरता दिनु पर्दछ भने हामीले चाहेका हौं ।’ 

निर्माणाधीन कामको निरीक्षण गर्न मंगलबार ती युवाहरुले प्रदेश २ का भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गतका जलश्रोत सिंचाई विभागका सिनियर डिभिजनल ईन्जिनियर तथा प्रोजेक्ट म्यानेजर भगवान झा, ठेकेदार एमएस प्रेरा –आर जे –राजन जेभी, ललितपुरका कन्टेक्ट म्यानेजर खुशीलाल ठाकुरसहित सर्वसाधारणलाई समेत मन्दिर परिसरमा बोलाएर सार्वजनिक परिक्षण गर्न आग्रह गरेका थिए ।

प्रोजेक्ट म्यानेजर भगवान झाले मन्दिर प्राङ्णमा प्रयोग भई रहेको मार्बल उच्च क्वाईलिटीको भएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘यो राजस्थानी मेटामोर्फेक रक हो । यो प्राकृतिक भएकोले नरम छ, तर जडान भई सके पछि ५० वर्ष टिक्छ ।’ सिनियर ईन्जिनियर झाले निर्माणको क्रममा अनियमितता देखिए वा गुणस्तरहीन सामग्री प्रयोग भएको पाईए सम्बद्ध ठेकेदारमाथि कारबाही गर्ने चेतावनी समेत दिनुभयो ।  

सिनियर डिभिजन ईन्जिनियर भगवान झा यसो भनि रहँदा युवा अभियान्ता सुशील कर्ण र सरोज मिश्रले उनको आँखै सामु हातैले मार्वलको टुक्रालाई अझm सानो टुक्रा बनाएर देखाएका थिए ।

‘हातैले टुत्रा टुक्रा हुने मार्बल हजारौं लाखौं जनाको भाड कसरी थेग्न सक्छ ?’ उनीहरुको जिज्ञासा थियो । प्रति उत्तरमा झाले जडान भइसके पछि बलियो हुने बताएका थिए ।

यता, निर्माण कम्पनीका कन्टेक्ट म्यानेजर खुशीलाल ठाकुरले सम्झौतामा उल्लेख भएकै सामग्री तथा डिजाईन अनुसार काम गरेको दाबी गरेका छन् ।  मंसिर तेश्रो साता प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत ठूलो तामझामका साथ मन्दिर परिसरबाट ‘प्रदेश स्वच्छता अभियान’ सुरु गरेका थिए । अभियान अन्तर्गत जानकी मन्दिरमा मार्बल र टायल्स जडान, तीन मुख्यद्वार पुर्ननिर्माण तथा ढल निकास आदिका लागि ८ करोड रुपैयाँ भन्दा बढी बजेट विनियोजन गरिएको थियो । तर, ठेक्का भने ६ करोड ७५ लाख ४६ हजार १ सय ५ रुपैयाँमा लागेको थियो ।

३ डिसेम्बर २०१८मा सम्झौता भएको सो आयोजनाको काम एक महिनाभित्र अर्थात् २ डिसेम्बर २०१९ भित्र पूरा गर्नु पर्ने हो तर, निर्माण कार्यको प्रगति हेर्दा केही महिना अझै लाग्ने देखिन्छ । जानकी मन्दिरमा वर्ष भरि नै पूजा अर्चना तथा विशेष पर्वको आयोजन हुँदै आएको छ । जसमा हजारौंको सहभागिता हुन्छन् । श्रावणमा दुई सातासम्म चल्ने झुलनोत्सव पर्वमा श्रद्धालुहरुले धेरै दुख भोग्नु परेको थियो । एक महिना पछि वडा दशैं आउँदै छ । निर्माण सामग्रीहरु यत्र तत्र राखिएको कारण मन्दिर परिसर अस्तव्यस्त बनेको छ । समयमा निर्माण सम्पन्न भएन भने श्रद्धालुहरुलाई कठीनाई हुनेछ ।


प्रतिक्रिया