हंसपुर नगरपालिकाका प्रमुखमाथि ज्यान सम्बन्धी कसूर मुद्दा 

भाद्र १९, २०७६ | धनुषा

धनुषाको हँसपुर नगरपालिकाका प्रमुख रामज्ञान मण्डल सहित चार जना विरुद्ध ज्यान सम्बन्धी कसूर मुद्दा दर्ता भएको छ । नगरप्रमुख सहित वडा नम्बर ३ का वडाध्यक्ष उदयकुमार सिंह, कार्यपालिका सदस्य श्याम राउत तथा नगरप्रमुख मण्डलका सहयोगी लालबाबु यादवमाथि ज्यान सम्बन्धी कसूर मुद्दा दर्ता भएको छ । हंसपुर नगरपालिका २ बघचौडाका राजकुमार मण्डलले नगर प्रमुख मण्डलसहित चार जना विरुद्ध मुद्दा दर्ता गराएको हो । 

श्रावण २१ गते हंसपुर नगरपालिको केन्द्र सार्ने विवादको क्रममा नगरप्रमुख मण्डल र उपप्रमुख रेणु कुमारी झा समूह बीच हालको केन्द्र रहेको बघचौडा बाजारमा भिडन्त भएको थियो । दुई तर्फी भिडन्त साम्य पार्न परिचालन गरिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीका सुरक्षाकर्मीहरुले समेत लाठी चार्ज गरेका थिए । जसमा उपप्रमुख झा, वडाध्यक्ष उदयकुमार साह सहित एक दर्जन बढी घाइते भएका थिए ।

भिडन्तमा ढाडको हाड भाचेर गम्भीर घाईते भएका तपेश्वर मण्डलको उपचारको क्रममा बुधबार अपरान्ह जनकपुर अञ्चल अस्पतालमा मृत्यु भएको थियो । मण्डलको मृत्यु भए पछि आक्रोशित बनेका बघचौडाबासीले बुधबार अवेर राति सम्म अस्पताल अगाडि प्रदर्शन गरेका थिए । बिहीवार बिहान १० बजेदेखि नै नगर प्रमुख मण्डल र वडाध्यक्ष सिंहमाथि कडा कारबाहीको माग गर्दै उनीहरु प्रदर्शनमा उत्रिएका थिए । 

जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दर्ता भए लगतै मृतकका छोरा राजकुमार मण्डल, उपप्रमुख रेणु कुमारी झा लगायतका बघचौडाबासीहरु अस्पताल पुगेका थिए । राजकुमार मण्डलले पोस्टमार्डम पश्च्यात् पिताको शव बुझेर गाउँ लग्ने बताए । तर, उनले दाहसंस्कार कहिले गर्ने भन्ने विषयमा केही बोलेनन् ।

स्थानीयका अनुसार, शुक्रबार मृतकको शवसहित नगर परिक्रमा गरेर मात्र शवको अन्तिम संस्कार गरिने छ । उपप्रमुख झाले भन्नुभयो, ‘मेयरले आफ्नै जनतालाई मारेको नगरबासीले पनि देखून । यसैकारण शवलाई नगर परिक्रमा गर्ने योजना छ ।’ 

उजुरी दर्ता भए पनि अदालतसँग पक्राउ पूर्जी अनुमति लिएपछि मात्र कारबाही प्रक्रृया अगाडि बढाईने प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘मुद्दा दर्ता भएको छ, अनुसन्धान हुन्छ अनि मुद्दा चलाईने छ ।’ 

मृतकप्रति समवेदना प्रगट गर्न जनकपुर अञ्चल अस्पताल पुगेका पूर्वमन्त्री रामचन्द्र झाले केन्द्र सार्ने सम्बन्धी संवैधानिक व्यवस्थालाई नजर अन्दाज गरी नगर प्रमुख मण्डलले बलजफ्ती गरेको आरोप लगाउनुभयो । उहाँले दोषीमाथि कडा कारबाहीको माग गर्नुभयो । 

 विवादको कारण केन्द्र सार्ने निर्णय

राष्ट्रिय जनता पार्टीको टिकटमा निर्वाचित नगरप्रमुख रामज्ञान मण्डल र उपप्रमुख रेणुकुमारी झा बीचको विवाद नयाँ होईन । नगरप्रमुख मण्डलले दोश्रो नगर सभामा नगरपालिकाको केन्द्र सार्ने प्रस्ताव ल्याए देखि नै दुबै जना बीचको विवाद सुरु भएको हो । केन्द्र सार्ने निर्णयको विरोधमा उपप्रमुख झाले पटकपटक धर्ना र अनशन बस्नुका साथै प्रहरी प्रशासन समेत गुहार्दै आउनु भएको छ ।

केन्द्र सार्ने विवाद उत्कर्षमै रहेको बेला श्रावण ३ गते हंसपुर चौकमा सम्पन्न नगर कार्यपालिकाको बैठकले बघचौडामा रहेको नगरपालिकाको केन्द्र हंसपुर चौकमा सार्ने निर्णय गरेको थियो । यद्यपि, नगरप्रमुख मण्डलले आफूहरु केन्द्र नभई अस्थायी कार्यालय मात्र संचालन गरेको दाबी गर्दै आएका छन् ।

यता, उपप्रमुख रेणुकुमारी झाले भने श्रावण ३ गते साँझ बघचौडास्थित केन्द्रबाट थप फाइल तथा कागजपत्र लैजान नपाओस भन्दै कार्यालयमा तालाबन्दी गरेका थिए । तर, बघचौडाबासीहरुले भने अस्थायी कार्यालय जहाँ खडा गरे पनि नगरप्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृत साविक केन्द्रमै बस्नु पर्ने अडानमा थिए ।

बघचौडाका भरत सहिनी लगायतले नगरप्रमुख मण्डलको केन्द्र सार्ने निर्णय विरुद्ध उच्च अदालत जनकपुरमा मुद्दा हाले र उच्च अदालत जनकपुरले श्रावण २८ गते अन्तरकालीन आदेश जारी गर्दै केन्द्र यथास्थितीमा राख्ने आदेश सुनाएको थियो ।  


प्रतिक्रिया