वन फडानीले कुरुप बन्दै कालिञ्चोक

भाद्र २७, २०७६ | दोलखा

दोलखाको कालिञ्चोक क्षेत्रमा वन फडानी तीब्र रुपमा भईरहेको छ । वन फडानी गरी कालिञ्चोकको कुरी बजारमा कानून विपरीत घरटहरा निर्माण गर्ने क्रम बढ्दै गएको छ । तीब्र रुपमा वन फडानी भए पनि सम्बन्धित निकाय भने मौन छन् ।

स्थानीयबासीका अनुसार धार्मिक तथा पर्यटकीय महत्वको कालिञ्चोकमा यतिखरे हरेक दिन दैनिक दुईदेखि तीन वटा रुख काटिन्छन् । ती रुखहरु अतिक्रमण गर्दै कानून विपरीत ठड्याइदै गरिएको घरटहरामा प्रयोग भैरहेको छ । वन फडानीको क्रम विगत दुई महिनादेखि चलिरहेको स्थानीयहरु बताउँछन् । 

पछिल्लो समयमा जंगल कटानको रोग दोलखा जिल्लाबाट सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकास्थित चोकटी क्षेत्रमा सरेको छ । जुन ठाउँ तीन हजार ८ सय ४२ मिटर उचाईमा रहेको मनोरम कालिञ्चोकको पश्चिमी मोहडामा पर्छ । यसअघि नै कालिञ्चोकको टुटुवानमा रहेका सयौं रुखहरु कटान भईसकेको छ । दोलखाका जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायको स्थलगत अनुगमण गर्दै कडा सूचनाहरु जारी गर्दै निगरानी बढाएरपछि तस्करीको श्रृङ्खला सिन्धुपाल्चोकतिर सरेको हो ।

आन्तरिक तथा बाह्य पर्यटकहरुको अत्यधिक चाप हुने सो क्षेत्रको वन फडानीले पर्यावरणमा असर परिरहेको छ । सुन्दर कालिञ्चोक क्रमिक रुपले कुरुप बन्दै छ । सिन्धपाल्चोकतर्फ कालिञ्चोक क्षेत्रमा वन विनाश अधिक भैरहेको खबर आएपछि वन कर्मचारी र सामुदायिक वन पदाधिकारी सहितको प्रतिवदेन तयार गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोग र जिल्ला प्रशासन कार्यालयमा पठाइएको वन कार्यालय सिन्धुपाल्चोकका देवीचन्द्र पोख्रेलले बताए । 

दैनिक सयौं मानिसहरु कालिञ्चोक भगवती मन्दिरमा दर्शन गर्न जान थालेपछि आधार शिविर कुरी र घ्याङडाँडामा अवैध संरचना थपिंदै छ । विसं. २०५० सालसम्म चौरी र भेडा पालक एक दर्जन जति परिवार बस्दै आएको कालिञ्चोक क्षेत्रमा व्यवसायिक घरटहरा थपिन थालेपछि जंगल विनास तीब्र भएको हो । जिल्ला समन्वय समिति प्रमुख डबल पाण्डेले दोलखाको क्षेत्रमा भएको वन विनाश नियन्त्रण प्रयास गरिरहेको बताउनुभयो । स्थानीय तहमा प्रशासन, वन कार्यालय र स्थानीयहरुको प्रयासले वन विनाशमा कमी आएको दाबी उहाँले बताउनुभयो । हाल सो क्षेत्रमा एक सय भन्दा बढी घर र टहराहरु निर्माण भईसकेका छन् । सबै क्षेत्रका जंगाल विनाश गरेर ती संरचना निर्माण गरिएका हुन् । 

कालिञ्चोक केही भाग गौरीशंकर संरक्षण क्षेत्रमा पनि पर्छ । सो क्षेत्रको वन विनाशको क्रम रोक्न र कारबाही गर्ने कार्यमा संरक्षण क्षेत्रले पनि पहल थालेको छ । संरक्षण क्षेत्र प्रमुख सत्यनारायण शाहाका अनुसार वन विनाश गर्नेलाई कारबाही गरिएको छ, नियन्त्रणका लागि जनचेतना जागृत गर्ने कार्य थालिएको छ ।

कालिञ्चोकको प्राकृतिक चमक गुम्न नदिन पहल गरिरहेको गाउँपालिकाका अध्यक्ष विनकुमार थामीले बताउनुभयो । वन जोगाउन, अतिक्रमण रोक्नका लागि पालिकाले योजना बनाइरहेको उहाँले सुनाउनुभयो । तर, सिन्धुपाल्चोकको पूर्वी भेगमा कोल्टे परेर बसेको त्रिपुरासुन्दरी गाउँपालिका चोकटी क्षेत्रमा तीब्र वन विनाश भैरहेको बारे सिन्धुपाल्चोकका जनप्रतिनिधि अनभिज्ञ छन् । 

त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्ष भूपेन्द्र श्रेष्ठले सो क्षेत्रमा पछिल्लो समयमा वन विनाशबारे आफू अनभिज्ञ रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘त्यसो हो भने अनुगमण समिति बनाउँछु, वन कार्यालयमा जानकारी गराउँछु ।’ 

स्थानीय एक व्यवासायीको पछिल्ला दुई महिनामा सो क्षेत्रमा पाँच हजार रुख काटिएको दाबी छ । तर, सो क्षेत्रमा गएर आँखा लगाए, वन विनाश कार्यमा संलग्नबाट आक्रमण हुने खतरा रहेको स्थानीयहरु बताउँछन् । 

वन विनाश बारे सर्वत्र आवाज उठेपछि वन विनास नियन्त्रण गर्न जिल्ला तहबाट प्रयास भएको सिन्धुपाल्चोक जिल्ला समन्वय समिति उपप्रमुख बालकुमारी सापकोटाले बताउनुभयो । समुदाय स्तरबाट नियमित अनुगमन गरी नियन्त्रण थालिएको कालिञ्चोकस्थित फोक्टे सुन्धारा सामुदायिक वन उपभोक्ता समितिको दाबी छ । 


प्रतिक्रिया