विभिन्न माग राख्दै सीटीईभीटीका कर्मचारी आन्दोलित 

रेडियो कान्तिपुर संवाददाता

भाद्र ३०, २०७६ | काठमाडौं

विभिन्न माग राख्दै प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सीटीईभीटी) राष्ट्रिय कर्मचारी संगठनले आन्दोलित बनेका छन् । सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा विस्तार गर्दा निश्चित मापदण्ड बनाउनुपर्ने लगायतका ११ बुँदे माग कार्यान्वयनमा चासो नदिएको भन्दै संघर्षमा उत्रिएका सीटीईभीटी राष्ट्रिय कर्मचारी संगठनले दोस्रो चरणको दवाव मुलक कार्यक्रम जारी राखेको छ । 

विद्यालयमा प्राविधिक शिक्षा विस्तार गर्दा भौगोलिक क्षेत्र, आवश्यकता तथा गुणस्तर कायम गर्दै हरेक स्थानीय तहमा कार्यक्रम नदोहोरिने गरी प्रष्ट मापदण्ड बनाउन दबाब सहित संगठन गत बुधबारदेखि संघर्षमा उत्रिएको थियो । माग सम्बोधनका विषयमा हिजो भएको वार्ता सकारात्मक नभएपछि दोस्रो चरणको दवाव मुलक कार्यक्रम सुरु गरिएको संगठनका केन्द्रीय अध्यक्ष तेज बहादुर खत्रीले बताउनुभयो । 

लामो समयदेखि केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारीलाई प्रदेश वा अन्य शिक्षालयमा पठाउने विषयमा सहमति नजुटेपछि दोस्रो चरणको दबाब मुलक कार्यक्रमको आयोजना गरिएको संगठनका केन्द्रीय उपाध्यक्ष विजेश बस्नेतले बताउनुभयो ।  

गत असोज २१ र जेठ १३ गते भएका सहमति कार्यान्वयनमा सुनुवाई नभए सीटीइभीटीका सबै ४७ वटै आंगिक शिक्षालयमा पठन पाठन ठप्प हुने गरी प्रदर्शनमा उत्रिने संगठनले चेतावनी दिएको छ । यसैबीच, करारमा कार्यरत कर्मचारीलाई पुन समय थप गर्नुपर्ने माग सहित प्रदर्शनका कारण बनेपा पोलिटेक्निक इन्ष्टिच्युटमा पठन पाठन ठप्प पारिएको संगठनको बनेपा ईकाइ उपाध्यक्ष रामकृष्ण पराजुलीले बताउनुभयो ।  


प्रतिक्रिया