राम - जानकी विवाह महोत्सव भव्यतासाथ मनाउने निर्णय  

कार्तिक २, २०७६ | जनकपुर

मंसिर दोश्रो साता आयोजन हुने सप्ताहव्यापी राम जानकी विवाह महोत्सव भव्यतासाथ मनाउने निर्णय भएको छ । यस वर्ष अयोध्याबाट साधु सन्तहरु जन्तीको रुपमा समेत सहभागी हुने भएकाले महोत्सवलाई भव्य बनाउन विभिन्न समितिहरु गठन गरिएका छन् ।

जानकी मन्दिरका छोटे महन्त रामरोशन दास वैष्णवको अध्यक्षतामा बसेको बैठकमा जनकपुर उप–महानगरपालिकाका प्रमुख लालकिशोर साह, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु, युवा संघ संस्थाका प्रतिनिधिसँगै नागरिक समाजका अगुवाहरुको सहभागिता थियो । विवाह महोत्सवमा सहभागी हुन भारतका अयोध्या, बनारस, दिल्ली लगातका सहरहरुबाट प्रत्येक वर्ष साधु महात्माहरुको सहभागिता रहने गरेपनि प्रत्येक पाँच वर्षमा अयोध्याबाट विधिवत जन्ती नै आउने प्रावधान छ ।

छोटे महन्त रामतपेश्वर दास वैष्णवका अनुसार यस वर्ष सयौंको संख्यामा सन्त महन्तहरुको सहभागिता हुनेछ । बैठकमा मञ्च व्यवस्थापन, शान्ति सुरक्षा, सौचालय तथा सरसफाई, खानेपानी व्यवस्थापन, पण्डाल तथा आवास व्यवस्थापन लगायतका उपसमितिहरु गठन गरिएको थियो भने जानकी मन्दिरको अगुवाईमा मूल समिति गठन गरिएको थियो ।

छोटे महन्त रामरोशन दास वैष्णवका अनुसार विवाह महोत्सवको मूल आयोजन मंसिर १५ गते हुने भएपनि मंसिर १० गतेदेखि १६ गतेसम्म साता व्यापी महोत्सव आयोजन हुनेछ । महोत्सवको पहिलो दिन नगर दर्शन, दोश्रो दिन फूलबारी लीला, तेश्रो दिन धनुष यज्ञ,चौंथो दिन तिलकोत्सव, पाँचौ दिन मटकोर, छैठौं दिन विवाह उत्सव तथा सातौं दिन रामकलेवा गरी विवाह महोत्सव सम्पन्न हुनेछ । 

रामजानकी विवाह महोत्सवमा आयोजन हुने सम्पूर्ण विधि व्यावहार मनोरम हुने भएपनि फूलबारी लीला, तिलकोत्सव तथा विवाह महोत्सवमा हजारौं श्रद्धालु सहभागी हुन्छन् । राम जानकी विवाह महोत्सवमा गत वर्ष उत्तर प्रदेशका मुख्यमन्त्री योगी पनि सहभागी भएका थिए । छोटे महन्त दासका अनुसार यस वर्षको महोत्सवमा पनि नेपाल र भारतका अतिविशिष्ट पाहुनाहरु सहभागी हुने सम्भावना छ ।

महोत्सवमा यस अघि नेपालका राष्ट्रपति डा.रामवरण यादव र विद्या देवी भण्डारी तथा पूर्व राजाहरु पनि सहभागी हुँदै आएका छन् । महोत्सव आयोजनमा साढे ३ करोड अधिक खर्च लाग्ने छोटे महन्त दासले जानकारी दिनुभयो । गत वर्ष प्रदेश २ सरकारले महोत्सव आयोजनको लागि ५० लाख सहयोग गरेको थियो ।

महोत्सवको क्रममा जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णव सीताको पिताको भूमिकामा हुन्छन् भने राम मन्दिरका महन्त राम गिरी रामको पिताको भूमिकामा । अयोध्याबाट आउने साधु सन्त तथा रामपट्टीका जनकपुरवासी जन्तीको रुपमा सहभागी हुन्छन् भने जानकी मन्दिरका महन्त, जनकपुर उपमहानगर पालिकाका प्रमुखसँगै जानकी पट्टीकाहरु जन्तीको स्वागतमा जुटेका हुन्छन् ।

राम, लक्ष्मण, सीता तथा सहेलीहरुको स्वरुपमा सजिएका किशोर–किशोरीहरु रामायण वर्णित कथा अनुसार अभिनय गरेर विवाह महोत्सवका विधिहरु सम्पन्न गर्छन । स्थानीय महिला पुरुष मंगल गीत गाउँदै विवाहमा सहभागी हुन्छन् । राम जानकीको विवाह भएको अवसर पारी मंसिर शुक्ल पञ्चमीको दिन सीताको जन्मस्थल जनकपुरधाममा विवाह महोत्सव आयोजन हुँदै आएको छ ।


प्रतिक्रिया