कालिञ्चोक गाउँपालिकामा तोडफोड, सामान कब्जा

कार्तिक ४, २०७६ | दोलखा

दोलखाको कालिञ्चोक गाउँपालिकाको कार्यालयमा आइतबार राति तोडफोड गर्दै सामानहरु लगिएको छ । कालिञ्चोक गाउँपालिका ८ कालिनागथानमा रहेको प्रशानिक केन्द्रको सामानलाई कब्जामा लिंदै वडा नम्बर ५ को बान्देथलीमा लगिएको छ ।

उक्त गाउँपालिकाको बहुमतको निर्णयबाट सामान सार्ने कार्य जनताबाट भएको गाउँपालिकाका अध्यक्ष वीनकुमार थामीले बताउनुभयो । सोमबारबाट बान्देथलीबाट कार्यालय सञ्चालनमा आउने उहाँले बताउनुभयो । तर, उक्त कार्य डकैती शैलीमा भएको आरोप उपाध्यक्ष कालिका पाठकले लगाउनुभयो ।

‘सात वटा ढोकाहरु फुटाएर लेखा र अन्य महत्वपूर्ण समानहरु चोरिनुलाई के भन्ने,’ उहाँले भन्नुभयो, ‘यो कार्यलाई लगिएको भन्न मिल्दैन डकैती हो ।’ प्रहरीलाई खबर गरी चोरी गरिएको भन्दै उहाँले सामान उठाएर लगेपछि प्रहरी पुगेको बताउनुभयो । 

उक्त गाउँपालिकाको केन्द्र विवादले झडप, हातपात, कुटाकुटको अवस्थामा गुज्रिरहेको थियो । अध्यक्ष वडा नं. ५ को बन्देशली र उपाध्यक्ष कालिनागथानमा केन्द्र राख्न पक्ष र विपक्षमा उत्रेपछि दुईबीच सम्वादहीनताको स्थिति थियो । केन्द्रको कारणले विकास निर्माणमा नै बाधा परेपछि उक्त पालिका पछिल्लो समय केन्द्र विवाद थाती राखेर विकास निर्माणमा केन्द्रित थियो ।

विकास शिविर नाम दिंदै अध्यक्ष र उपाध्यक्ष साथसाथै औपचारिक कार्यक्रममा देखिन्थे । परिस्थिति सहज हुँदै गएको अवस्थामा वडा नं. ५ का अध्यक्ष सुभास थामीको नेतृत्वमा केन्द्रका सामाग्रीहरु लगिएपछि गाउँपालिका फेरि विवादमा आएको हो । वडाअध्यक्ष सुभास थामीले निर्णय बमोजिम प्रशासनिक केन्द्र सारिएको स्वीकार्दै १३ जना जनप्रतिनिधि सहितले कार्यालय सारेको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

गाउँपालिकाका अध्यक्ष वीनकुमार थामीका अनुसार ६ वटा वडाका अध्यक्ष सहित जनप्रतिनिधिको रोहबरमा सामान सारिएको हो । उहाँका अनुसार गाउँपालिकाको माइन्युट, कार्यालय सञ्चालन गर्न आवश्यक पर्ने हाजिर खाता, कम्प्युटर, प्रिन्टर, राष्ट्रिय झण्डा लगायतको सामान मात्रै लगिएको छ । लेखा लगायत अन्य सम्वेदनशील कागजपत्र छोइएको पनि छैन । उपाध्यक्ष कालिका पाठकले भने लेखाको सामग्री माथि नै बढी क्षती पुर्‍याइएको बताउनुभयो । 

प्रशानिक केन्द्र विवाद ३ नम्बर प्रदेश सरकारसम्म पुगेको थियो । गाउँपालिका अध्यक्ष वीनकुमार थामीकोले प्रकृया पूरा गरी पेश गरिएको अवस्थामा पनि वास्ता नगरिएपछि बाध्य भै रातको समयमा कार्यालय सार्नु परेको बताउनुभयो ।

पायक पर्ने स्थानमा केन्द्र राख्ने विषयमा राज्यको कुनै पनि अङ्गले वास्ता नगरेपछि जनताले उक्त कार्य गरेको उहाँको भनाई छ । उपाध्यक्ष पाठकले प्रशासनिक केन्द्र सार्ने विषयमा जवरजस्ती बाहेक कुनै पनि साझा निर्णयहरु नभएको बताउनुभयो । 


प्रतिक्रिया