आलोपालो प्रधानमन्त्रीको सहमति भएको छैन : मन्त्री पोखरेल

कार्तिक ८, २०७६ | मोरङ

उपप्रधान एवं रक्षा मन्त्री इश्वर पोखरेलले एकताका बेला पार्टीका दुई अध्यक्षबीच आलोपालो प्रधानमन्त्री बन्ने सहमति नभएको बताउनुभएको छ ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकताका बेला भएको सहमति कार्यान्वयन नभएको भन्दै असन्तुष्टि जनाइरहेको बेला कार्यबहाक प्रधानमन्त्री पोखरेलले पार्टी एकताका बेला आलोपालो प्रधानमन्त्री बन्ने सहमति नभएको बताउनु भएको हो । विराटनगरमा शुक्रबार पत्रकारसँग कुराकानी गर्दै पोखरेलले यस्तो बताउनु भएको हो । 

‘सहमतिकै आधारमा पार्टी चलेको छ र सहमति अनुसार नै दुई जना अध्यक्ष बनेर चलिरहेको छ,’ उहाँले भन्नुभयो, ‘आलोपालो प्रधानमन्त्री बन्ने विषयमा कुनै किसिमको संस्थागत सहमति भएको छैन र आवश्यकता अनुसार पार्टीले जो कोही नेतालाई कामको जिम्मेवारी दिन सक्छ ।’ पार्टी एकता राष्ट्रिय आवश्यकता र जनताको चाहनाले भएको हुँदा यसलाई आँच पुर्‍याउने काम कसैले गर्न नहुने पोखरेलको भनाई थियो । 

‘दुई वटा पार्टी अलग अलग पृष्टभूमिबाट आएर एकता भएकाले विभिन्न विषयमा छलफल र भनाभन हुन सक्छ त्यसलाई अस्वभाविक नमान्न उहाँले सबैलाई आग्रह छ,’ उहाँले भन्नुभयो, ‘पार्टीका दुई अध्यक्षबीच कुनै किसिमको विवाद नभएको र दुबै जनाको दैनिक भेटघाट र कुराकानी भइरहेकोले सञ्चारमाध्यममा आए जस्तो कुनै किसिमको विवाद र असमझदारी छैन ।’

पोखरेलले तत्कालीन फोरम कार्यकत्र्ताले गौर हत्याकाण्डमा माओवादीका नेता कार्यकत्र्तालाई गरेको विषयमा छानबिन गरी कारबाही हुने बताउनुभयो । ‘गौर हत्या काण्डको पनि छानबिन हुन्छ,’ उहाँले भन्नुभयो, ‘विगतमा भएका जुनसुकै अपराधहरु तथ्यसहित अगाडि आयो भने छानबिन गरी कारबाही हुन्छ ।’ 

पार्टी एकता हुन अगाडि सम्म सशस्त्र युद्धका बेला भएको घटनाहरुलाई अपराधिक घटना भएर चित्रण गर्दै आएका पोखरेलले अहिले त्यसलाई अपराधिक घटना भन्न नमिल्ने बताउनुभयो । 

‘जनयुद्धका बेलामा भएको घटनाहरुलाई अपराध भनेर चित्रण गर्नु हुँदैन र यसमा कारबाही हुँदैन,’ उहाँले भन्नुभयो, ‘कसैको आग्रह, अनुहार र पद हेरेर होइन तथ्यको आधारमा कानूनी र पारदर्शी ढंगले गलत गर्नेलाई कारबाही हुन्छन् ।’

सांसद अफताब आलम प्रक्ररणमा अदालतको निर्णय कार्यान्वयनको आदेश अनुसार सुरक्षाकर्मी गएर छानबिन प्रक्रिया अघि बढाएकोले यसमा कुनै कसैको आग्रह र पूर्वाग्रह नभएको मन्त्री पोखरेलले बताउनुभयो । 

सभामुख कसलाई बनाउने विषयमा छलफल भइरहेको तर टुंगोमा पुगिनसकेको बताउनुभयो । प्रतिबन्धित नेत्रविक्रम चन्द समूहसँगको वार्ताको विषयमा सञ्चारकर्मीले राखेको जिज्ञासामा उहाँले हिंसा, हत्या, जोरजुलुम र जबरजस्ती गर्ने प्रवृति छाडेपछि मात्रै वार्ता हुने बताउनुभयो । 


प्रतिक्रिया