भारतीय नक्साको अर्घाखाँचीमा सत्तापक्ष-प्रतिपक्षी विद्यार्थीको विरोध

कार्तिक २१, २०७६ | अर्घाखाँची

भारतले आफ्नो नक्सामा कालापानी र लिपुलेक क्षेत्रलाई पुन: समावेश गरेकोमा तीन विद्यार्थी संगठनले सन्धिखर्कमा विरोध प्रदशन गरेका छन् । नक्साको विरोधमा सत्तापक्ष–प्रतिपक्षी विद्यार्थी संगठनले एउटै ब्यानरमा विरोध गरेका छन् ।  

नेपाल कम्युनिष्ट पाटी (नेकपा) निकट अनेरास्ववियू, कांग्रेस निकट नेपाल विद्यार्थी संघ र राष्ट्रिय जनमोर्चाको अनेरास्ववियूले पाणिनि बहुमुखी क्याम्पसबाट निस्केको विरोध प्रदशन सन्धिखर्क बजार परिक्रमा गरी शान्ति बगैंचामा आएको कोणसभा गरे ।

‘गो ब्याक इन्डिया’, कालापानी–लिपुलेक–लिम्पुयाधुरा हाम्रो भूमि हो । हाम्रो भूमि माथिको हस्तक्षेप हामीलाई स्वीकार्य छैन, भारतीय विस्तारवाद मुर्दावाद भन्दै चर्काे नारा लगाएका थिए । क्याम्पस, स्कूलमा पढने विद्यार्थीको जुलुसमा पूर्व विद्यार्थी, नागरिक समाज र बजारबासी सहभागी भएका थिए ।  

दोस्रो पटक चुनाव जितेको पाँच महिना भित्रै भारतीय प्रधानमन्त्री नरेन्द्र मोही नेतृत्वको सरकारले तयार पारेको नयाँ नक्सामा नेपालको भू–भाग भारतीय नक्सामा समावेश गरिएपछि चौतर्फी विरोध भएको छ । अनेरास्ववियूका अध्यक्ष प्रदिप नेपालीले बरु छातीमा गोली खान तयार छौं तर, नेपालको भूमी एक इच्छ पनि मिचिएको रहन नसक्ने बताए । भारतीय नक्सामा समावेश भएको नक्सा प्रधानमन्त्रीले कूटनीतिक पहलबाट फिर्ता गर्नुपर्ने उनले बताए । 

नेपाल विद्यार्थी संघका सभापति भरतमणि भट्टराईले भारतीय हस्तक्षेप स्वीकार्य नहुने बताए । नेपाली माटोलाई भारतले मेरो हो भनेर नक्सामा समावेश गर्नु आपत्तीजनक र अस्वीकार्य भएकाले सरकारले छिट्टै धारणा सार्वजनिक गरी पहलकदमी मार्फत भारतको नक्सा रद्द गर्न उनले सरकारसँग माग राखे । उनले नक्सा फिर्ता नहुन्जेल विद्यार्थीले आन्दोलनलाई कडा बनाउने र सत्तापक्ष–प्रतिपक्ष सबै राजनीतिक दलका शीर्ष नेता एकै ठाउँमा उभिएर एउटै आवाज उठाउनुपर्ने उनले बताए ।  


प्रतिक्रिया