राम जानकी विवाह महोत्सवको तयारी पूरा 

मंसिर ९, २०७६ | जनकपुर

भोलिबाट सुरु हुने सात दिवसीय रामजानकी विवाह महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ । महोत्सवमा राष्ट्रपति विद्या देवी भण्डारी पनि सहभागी हुने जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास वैष्णवले जानकारी दिनुभयो ।  

महोत्सवको तयारी बारे जानकारी दिन सोमवार आयोजित पत्रकार सम्मेलनमा उत्तराधिकारी महन्त दासले भन्नुभयो, ‘महोत्सवमा सहभागी हुन राष्ट्रपति, प्रधानमन्त्री सहित केही भारतीय नेताहरुलाई पनि आमन्त्रण गरेको छ । राष्ट्रपतिज्यू सहभागी हुने लगभग पक्का भएको छ ।’ 

त्रेतायुगमा मंसिर शुक्ल पक्ष पञ्चमी तिथिमा राम जानकी बीच विवाह भएको शुभसाईतमा जानकी मन्दिरमा प्रत्येक वर्ष धूमधामका साथ रामजानकी विवाह महोत्सव मनाउने परम्परा छ । यस वर्ष राम जन्मभूमि अयोध्याबाट विशिष्ट साधु सन्तहरुको टोली जन्तीको रुपमा सहभागी हुने भएकोले तयारीलाई अझ व्यापक बनाईएको उहाँले बताउनुभयो । 

विवाह महोत्सव मंसिर १५ गते आयोजना हुने भएपनि सात दिवसीय महोत्सवको प्रारम्भ भने मंगलबारदेखि सुरु हुनेछ । जनकपुर नगर दर्शनसँगै सुरु हुने महोत्सवको दोश्रो दिन बुधबार फूलबारीलीला, बिहीबार धनुषयज्ञ, शुक्रबार तिलकोत्सव, शनिबार मटिकोर, आइतबार रामजानकीको स्वयंवर र विवाह तथा अन्तिम दिन सोमबार रामकलेवाको आयोजन गरी महोत्सव विधिवत सम्पन्न हुने उत्तराधिकारी महन्त दासले जानकारी दिनुभयो । 

तुलसी दास लिखित रामचरित्र मानसमा उल्लेख भए अनुसार, ‘गुरु विश्वामित्रसँगै मिथिला आएका राम, लक्षण जनकपुर प्रवेश गरी यहाँको सुन्दरता अवलोकन गरेका थिए । त्रेतायुगीन घटनाक्रमलाई निरन्तरता दिंदै महोत्सवको प्रारम्भ नगर दर्शनसँगै गर्ने चलन छ ।’

राम सीताबीच फूलबारीमा पहिलो मिलन भएको उल्लेख छ । यस उपक्रमलाई फूलबारी लीलाको रुपमा आयोजन गरिन्छ । रामायण वर्णित पात्रहरुको स्वरुप निर्माण गरी तथा रामलीला मार्फत यी विधिहरु सम्पन्न गरिन्छ ।

विवाह महोत्सवलाई आकर्षक बनाउन जानकी मन्दिरलाई झिलिमिली बिजुली बत्तीले  श्रृङगार पटार गरिएको छ भने, बाह्र बिघा रंगभूमि मैदानमा यात्रुहरुको विश्राम, खानेपानी, अस्थायी शौचालय आदिको निर्माण द्रुतगतिमा हुँदैछ । मेला भर्न आउने श्रद्धालुहरुको आवास, भोजन, खानेपानी आदिका लागि विभिन्न सरकारी, गैर सरकारी संस्थासँगै निजी पहलमा समेत आवास, खानेपानी, शौचालय आदिको व्यवस्था गरिंदैछ । 


प्रतिक्रिया