उपनिर्वाचन लक्षित बम विस्फोट गर्ने चन्द समूहको योजना असफल 

मंसिर १०, २०७६ | सुनसरी

धरान उपमहानगरपालिकामा मंसिर १४ गते हुने उपनिर्वाचन लक्षित बम विस्फोट गर्ने तयारीमा रहेका नेत्र विक्रम चन्द समूहका ९ जना कार्यकर्ता पक्राउ परेका छन् । उनीहरुलाई सोमबार राति धरानको भानुचोक र धरान १५ स्थित निराजन बस्तीबाट प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालय धरानका प्रही नायव उपरिक्षक ढुण्डिराज न्यौपानेले बताउनुभयो ।

हिजो साँझ साढे ६ बजे धरान–८ भोटेपुल बस्ने रमेश भन्ने कुमार ढकाललाई भानुचोकबाट प्रहरीले नियन्त्रणमा लिएको थियो । ढकाल पूर्व वाइसीएल नेता हुन् । ढकालकै बयानका आधारमा थप ८ जनालाई प्रहरीले पक्राउ गरेको थियो । उनीहरु आठै जनालाई धरान–१५ का वडाध्यक्ष नरेश इङ्वारमको पुरानो घरबाट पक्राउ गरिएको हो । 

पर्नेहरुमा सुवास राई, संजेस राई, दिपेन्द्र राई, उदिप रसाइली, प्रविन राई, उमेश राई, पदम राई, महेन्द्र राई र सुवास राई रहेका छन् । पक्राउ पर्नेहरु मध्ये संजेस र रमेश धरान ८ भोटेपुलमा बस्दै आएका हुन् भने बाँकी संखुवासभाको सिलिचोङ ३ ताम्कु बासिन्दा रहेको प्रहरीले जनाएको छ ।

चन्द समूहका कार्यकर्ताहरु वडाअध्यक्ष इवारमको पुरानो घर भाडामा लिएर धरानमा चन्दा आतंकसँगै उपनिर्वाचन विथोल्न प्रेसर कुकर बम बनाउने योजनामा रहेका थिए । उनीहरुलाई प्रहरीले पक्राउ गरेपछि मात्र उनीहरु चन्द समूहका कार्यकर्ता रहेको थाहा भएको वडाध्यक्ष इङ्वारमले बताउनुभयो ।

प्रहरी नायक उपरीक्षक न्यौपानेका अनुसार उनीहरुका साथबाट धरानका विभिन्न व्यापारीबाट चन्दा उठाएर जम्मा गरेको १ लाख १२ हजार ५ सय रुपैयाँ, अढाइ लिटरको नयाँ प्रेसर कुकर एक थान, विप्लपको हस्ताक्षर भएको आर्थिक सहयोगको अपिल रसिद २ थान, मोटरसाइकल २ थान, मोबाइल सेट १० थान र सिम १२ थान बरामद भएको छ । 

चन्द समूहका कार्यकर्ताले उपनिर्वाचनमा अवाञ्छित गतिबिधि गर्ने र चन्दा आतंक मच्चाउने तयारी गरिरहेको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको जनाएको छ । पक्राउ परेका सबैलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया