कृष्णदास महाराज उर्फ सिद्धबाबा विरुद्ध बलात्कार मुद्दा दर्ता

मंसिर १३, २०७६ | सुनसरी

सुनसरीको चतरास्थित आश्रममा बस्दै आएका सिद्धबाबा भनिने जगतगुरु कृष्णदास गिरी विरुद्ध बलात्कार मुद्दा दर्ता भएको छ । अनुयायीमाथि जबरजस्ती गरेको उजुरीपछि सुनसरी जिल्ला अदालतले सिद्धबाबाविरुद्ध पक्राउ पुर्जी समेत जारी गरेको छ । सिद्धबाबा भनिने कृष्णदासले आफूलाई बराह क्षेत्रस्थित चतरा आश्रममा गत कार्तिक ४ गते बलात्कार गरेको दाबी जाहेरीकर्ताको छ । 

बलात्कार घट्नाको उजुरी सुनसरी प्रहरीले लिन नमानेपछि ती महिला केन्द्रीय अनुसन्धान व्यूरो सीआईबी पुगेकी थिईन् । तर, ब्यूरोले ती महिलाको स्वास्थ्य परीक्षण गरी सुनसरी फिर्ता पठाई दिएको थियो । बलात्कार जस्तो जघन्य अपराध विरुद्ध प्रहरीले जाहेरी नलिएको समाचार सार्वजनिक भएकै दिन आज सुनसरी प्रहरीले मुद्दा दर्ता गरी अदालतबाट सिद्धबाबा विरुद्ध पक्राउ पुर्जी समेत लिएको हो । 

उजुरी दर्ता भएपनि प्रहरीले भने सिद्धबाबालाई पक्राउ भने गरिसकेको छैन । आफूविरुद्ध उजुरी दर्ता भएको थाहा पाएपछि सिद्धबाबा बिरामी परेको भन्दै विराटनगरस्थित एक अस्पतालको आकस्मिक कक्षमा भर्ना भएको श्रोतलाई उदृत गदै सहकर्मी प्रदीप मेन्याङ्बोले जनाएका छन् । प्रहरीले सिद्धबाबा विरुद्ध निगरानी भने राखेको छ । 

विगत ६ महिना यता आफूलाई सिद्धबाबा भनेर चिनाउँदै आएका गिरीलाई कृष्णदास महाराज भनेर पनि चिनिन्छ । विवादमा आइरहने गिरीले करीब एकदशक अघि पनि दुई किशोरीलाई बलात्कार गरेको घट्ना सार्वजनिक भएको थियो ।

सुनसरी–मोरङ सिंचाई आयोजनाको बराह क्षेत्रस्थित चतराको जग्गा कव्जा गरेर गिरीले ८ करोड लागतको १ सय २८ कोठाको वातानुकूलित आश्रम भवन निर्माण गरेका छन् । यस्तै, सिद्धबाबासँग जन्ममिति नै फरक भएका दुई नागरिकता छन् । भारतको अयोध्यामा आयोजित एक कार्यक्रममा अनन्त श्री उपाधि समेत पाएका सिद्धबाबाले २०४८ फागुन १२ गते वंशजको आधारमा सोलुखुम्बु जिल्ला प्रशासन कार्यालयबाट छविलाल गिरीको छोरा कृष्ण बहादुर गिरी भएको पहिलो नागरिकता लिएका छन् ।

दोश्रो नागरिकता जिल्ला प्रशासन कार्यालय सुनसरीबाट २०६५ पुस १७ गते लिएका छन् । वंशजकै आधारमा निकालेका श्री वैष्णव कृष्णदासको नाममा लिएको दोश्रो नागरिकतामा जन्मस्थान ठेगाना सोलुखुम्बु बाबु छविलाल गिरी, स्थायी बासस्थान बराहक्षेत्र १, जन्ममिति २०३१ साल फागुन १९ गते उल्लेख रहेको छ ।    


प्रतिक्रिया