एमबीबीएस परीक्षा बहिष्कार गर्ने ८ विद्यार्थी पक्राउ 

मंसिर १९, २०७६ | पोखरा

परीक्षा बहिष्कार गर्ने पोखरास्थित गण्डकी मेडिकल कलेजका ८ जना विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ । परीक्षा सुरु हुनुअघि बिहान १० बजेतिर केन्द्रमा पुगेका ४ जना विद्यार्थी परीक्षा बहिष्कार भन्दै लगत्तै बाहिरिएका थिए ।

मेडिकल कलेजले लिएको बढी शुल्क फिर्ता नभएसम्म परीक्षामा नबस्ने भन्दै निस्किएका उनीहरुलाई कलेज प्रशासनले नियन्त्रणमा लिएको थियो । कलेज प्रशासनको ज्यादतीबिरुद्ध कुराकानीका लागि प्रहरी कहाँ पुगेका थप ४ विद्यार्थीसहित ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको आन्दोलनरत विद्यार्थीको भनाई छ ।

यद्यपि कास्की प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले गण्डकी मेडिकल कलेजबाहिरका विद्यार्थीको उपस्थितिमा तोडफोड सुरु भएकाले नियन्त्रणमा लिएको दाबी गर्नुभयो । 

उनीहरु सोही कलेजका विद्यार्थी भए–नभएको बारे छानबिन भइरहेको कार्कीले बताउनुभयो । निजी मेडिकल कलेजले लिएको बढी शुल्क फिर्ता गर्नुपर्ने माग गर्दै आन्दोलनरत गण्डकी मेडिकल कलेजका विद्यार्थीले आजदेखि सुरु एमबीबीएस पहिलो वर्षको परीक्षा बहिष्कार गरेका छन् । एक विद्यार्थीले आज हुने परीक्षाको प्रश्नपत्र सुरुमै बाहिरिएको बताएका छन् । 


प्रतिक्रिया