विवादित सीडीओ रिजाललाई फिर्ता बोलाइयो, दोलखाको निमित्त प्रजिअमा सुदर्शन श्रेष्ठ

मंसिर २०, २०७६ | दोरखा

दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल घूस लिएको आरोपमा विवादमा तानिएपछि गृह मन्त्रालयमा फिर्ता बोलाएको छ । उनको ठाउँमा सुर्दशन श्रेष्ठलाई निमित्त सीडीओको जिम्मेवारी दिएको छ । मुद्दाको क्रममा दस्तुर भन्दा बढी पैसा लिएको आरोप प्रजिअ रिजाललाई लागेपछि गृह मन्त्रालयले फिर्ता बोलाएको हो । सामाजिक सञ्जाल र सञ्चार माध्याममा उनले अवैद्य रकम असूलेको भाइरल भएपछि शुक्रबार ११ बजे जिल्ला छाडेका हुन् ।

‘उहाँ कार्यालय नआइ शुक्रबार जानु भयो,’ निमित्त प्रजिअ श्रेष्ठले भन्नुभयो । एकैदिन दुई जना अभियोगीसँग घूस लिएको प्रतिवादीहरुले दाबी गरेपनि उनले भने आरोपलाई अस्वीकार गर्दै आएका छन् । उनले पीडितलाई क्षतिपूर्ति भराउन प्रतिवादीसँग रकम लिएको दाबी गरेका छन् ।

प्रजिअ रिजालले रकम असूलेको आरोप बाहिर आउने बित्तिकै सामाजिक सञ्जालमा भाइरल भएको थियो । शुक्रबार नेपाली काग्रेसको भ्रातृ संगठन तरुण दलले उनका विरुद्ध चरिकोट बजारमा नाराबाजी गर्दै प्रर्दशन गरे । दबाब बढिरहेको बेला गृह मन्त्रालयले उनलाई फिर्ता बोलाउन चिठी पठाएको थियो । साथै गृह मन्त्रालयले निमित्त सीडीओ जिम्मेवारीको पत्र पनि शुक्रबार बिहानै पठाएको थियो ।

अभद्र व्यवहारको मुद्दाका अभियोगी मेलुङ गाउँपालिका ४ भेड्पुका कुमार लामा र सार्वजनिक सुरक्षा विरुद्धको मुद्दाका अभियुक्त कालिञ्चोक गाउँपालिका १ का २८ वर्षीय ईन्द्र पाख्रिन तथा उनका ५१ वर्षीय बाबु उदिम तामाङले घूस दिएको उनले बताए ।

दुबै मुद्दाका आरोपीहरुलाई प्रमुख जिल्ला रिजालले धरौटीमा छाडेका थिए । धरौटी भन्दा बाहेक कुमार लामासँग ९० हजार रुपैयाँ र इन्द्र र उदिमसँग ३५ हजार रकम लिएको दाबी दुबै पक्षले गरेका छन् । उक्त घटनाका बारेमा प्रजिअ रिजालले पीडितलाई क्षतिपूर्ति भराउन थप रकम लिएको बताए । प्रजिअ रिजालले कुमारलाई १० हजार धरौटी र पाख्रिनका बाबुछोरालाई सात सात हजार धरौटीमा छाडेका थिए । 

लामाकी श्रीमती रेनुले आफ्नै हातले ९० हजार दिएको बताएकी छिन् । सो विषय प्रजिअ रिजालले गोप्य कोठामा गरेर गरेको पनि उनले बताइन् । ‘घटना बाहिर ल्याउने बताएपछि क्वाटरमा लगेर सीडीओसापले पत्रिकामा बेरेर ९० हजार फर्काउनु भयो,’ रेनुले भनिन् । 


प्रतिक्रिया