जंगली हात्तीको आक्रमण बढ्दो, त्रासमा रात काट्न बाध्य स्थानीय

मंसिर २५, २०७६ | सिरहा

सिरहाको उत्तरवर्ती चुरे वन क्षेत्रमा रहेका लहान नगरपालिकाका बानो, अमही, मोहनपुर, तरेगना सहित धनगढीमाई, गोलबजार र मिर्चैया नगरपालिकाका तीन दर्जन भन्दा बढी बस्ती वर्षेनी हात्तीको आक्रमणको चपेटामा पर्दै आएका छन् । हात्ती आक्रमणबाट ती क्षेत्रका बासिन्दाको वर्षेनी ज्यान जाने गरेको छ । 

जंगली हात्तीले बस्ती प्रवेश गरी जनधनमा क्षति पुर्‍याउने गरेकैं कारण ती क्षेत्रका बासिन्दा मंसिरदेखि माघसम्म त्रासमा बाच्नुपर्ने बाध्यता छ । यो सिजनमा वर्षेनी त्यसमा जंगली हात्तीले आफ्नो बास स्थान बनाउँछन् । वन्यजन्तु विज्ञका अनुसार झापादेखि चितवनसम्मको चुरे क्षेत्र हात्ती हिँड्ने कोरिडोर भएकाले हिउँदको मौसममा जंगली हात्तीको खतरा बढी हुन्छ ।

कोशी टप्पु आरक्ष र उदयपुरको चुरे क्षेत्र हँुदै यस क्षेत्रमा प्रवेश गरेको जंगली हात्तीको आक्रमणबाट सोमबार सिरहा मिर्चैया नगरपालिका ९ पैनघट्टाका श्रवण महतोका ८ वर्षीय छोरा रविन्द्रको मृत्यु भयो । बाबुछोरा घरमा सुतिरहेका बेला राति ११ बजे हात्तीआएको चाल पाएपछि छोरा बोकेर बाहिर निस्कन खोज्दा आक्रमण गरेपछि रविन्द्रको मृत्यु भएको थियो । श्रवणले भागेर ज्यान जोगाए ।

दुई दिन यता सिरहाको उत्तरवर्ती चुरे क्षेत्र प्रवेश गरेको जंगली हात्तीको आक्रमणबाट गोलबजार नगरपालिका १० धरमपुरका ५५ वर्षीय कंशलाल लामा घाईते भए । विराटनगरमा उपचार गराईरहेका लामा शौच गर्न राति निस्किने क्रमममा हात्तीले आक्रमण गरी घाइते बनाएका थिए । 

सोही रात गोलबजार नगरपालिका ३ स्थित मुसहर बस्तीका अशोक सदाय मुसहर, बद्री, रामचरित्र र दिलवर सदायको घर पनि भत्काईदिएको थियो । जंगली हात्तीले धनगढीमाई नगरपालिका १३ का निर्मल योन्जन, मागैन यादव, रामप्रसाद यादव, भवनाथ दाहाल, विशेश्वर महतो, नागेश्वर महतोको घरमा क्षति पुर्‍याउनुका साथै अन्नपात समेत नष्ट गरेको छ ।

गाउँमा जनधन सहित मानवीय क्षति हुने त्रासले गाउँलेहरु रातभर आगो बालेर पालैपालो जाग्राम बस्न थालेका छन् । ‘त्रासमा रात काट्न बाध्य छौ’ मागैन यादवले भने ‘रातभर कोही पनि निदाउँदैनन्, युवादेखि वृद्धवृद्धा पालो लगाएर रातभर आगो र टिन ठट्याउँदै जाग्राम बस्छन् ।’

पीडित ती क्षेत्रका बासिन्दाले हात्तीको नियन्त्रणका लागि वन कार्यालयलाई गुहारेका छन् । जिल्ला वन कार्यालयले चुरे क्षेत्रमा हात्ती धपाउन वन कर्मचारी खटाएको छ । हात्तीको आक्रमणको त्रासले सिरहाको उत्तरी चुरे क्षेत्र ५० भन्दा बढी घर परिवार विस्थापित भएका छन् । दुई वटाको संख्या रहेको जंगली हात्ती दिनभर जंगल क्षेत्रमा बस्ने र रातपरेपछि गाउँ प्रवेश गरी आतंक मचाउने गरेको पीडितहरुले बताएका छन् ।

६ जनाले ज्यान गुमाए :

जिल्ला वन कार्यालय सिरहाको तथ्यांक अनुसार हात्तीको आक्रमणबाट सिरहामा अहिलेसम्म ६ जनाले ज्यान गुमाईसकेका छन् । जंगली हात्तीको आक्रमणबाट यसवर्ष ८ वर्षीय बालक रविन्द्र महतोले ज्यान गुमाए । गतवर्ष उत्तरवर्ती चुरे क्षेत्र गोलबजार नगरपालिका १० गैरीटोलकी ७० वर्षीया बुद्धिमाया थापामगरको ज्यान गयो । छिमेकी गोकुल थापाको घरबाट शुक्रबार राति साढे आठ बजे टिभी हेरेर फर्किने क्रममा जंगली हात्तीले आक्रमण गर्दा एक वृद्धाको मृत्यु भयो । हात्तीको आक्रमणबाट लहान नगरपालिका १७ का रामवति ठाकुर र रामदेव साफी, ढोढनाका ४२ वर्षीय देवनारायण चौधरी, सुरेश चौधरीले ज्यान गुमाईसकेका छन् ।

एक जनाले पाए क्षतिपूर्ति :

जंगली हात्तीको आक्रमणबाट मृत्यु भएका मध्ये अहिलेसम्म एक जनाले मात्र क्षतिपूर्ति रकम पाएका छन् । राष्ट्रिय निकञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा ३ (घ) मा राष्ट्रिय निकुञ्ज तथा आरक्षभन्दा बाहिर वन्यजन्तुको आक्रमणमा परी जनधनको क्षति भएमा त्यस्तो क्षति बापत तोकिए बमोजिम राहत दिइने उल्लेख छ ।

जिल्ला वन अधिकृत सुवास चन्द्र दासले आफ्नो कार्यकालमा जंगली हात्तीको आक्रमणबाट गतवर्ष मृत्यु भएकी उत्तरवर्ती चुरे क्षेत्र गोलबजार नगरपालिका १० गैरीटोलकी ७० वर्षीया वुद्धिमाया थापामगरको परिवारलाई १० लाख रुपैयाँ राहत दिइएको जानकारी दिनुभयो । 


प्रतिक्रिया