कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

मंसिर २६, २०७६ | काठमाडौं

- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । उपनिर्वाचनको समिक्षा तथा भ्रातृ संस्था र विभाग गठनका बारेमा बैठकमा छलफल हुने प्रवक्ता विश्व प्रकाश शर्माले जानकारी दिनुभयो । आजको बैठकमा सभापति शेरबहादुर देउवाले विभागको गठन प्रक्रियाका बारेमा प्रस्ताव गर्ने बुझिएको छ । देउवाले २८ विभागको गठन गर्ने विधानमा व्यवस्था हुँदाहुँदै ४५ विभाग गठनको तयारी गर्नुभएको उहाँ निकट स्रोतले बताएको छ । 

सभापति देउवाले आजको बैठकमा सोही विषय प्रस्ताव गर्ने तयारी गर्नुभएको हो । विभागको संख्या बढाउने प्रस्ताव कार्यसमितिको बहुमतबाट पारित गर्नुपर्ने व्यवस्था भएपनि गठन गर्ने अघिकार सभापतिमा रहेको छ । तर वरिष्ठ नेता रामचन्द्र पौडेलले भने यसअघि आफुले प्रस्ताव गरेको नौँ बुदे मागलाई कार्यान्वयन गर्नुपर्ने अडान लिनुभएको छ । 

एक महिना अघि पौडेलले देउवा निवास पुगेर महाधिवेशन चाँडो गर्नुपर्ने लगायतका माग राख्दै नौं बुँदे प्रस्ताव गर्नुभएको थियो । बैठकमा पार्टीको साङ्गठनिक गतिविधि, पछिल्लो राजनीतिक अबस्था लगायतका बारे समेत छलफल हुने प्रवक्ता शर्माले बताउनुभयो । 


प्रतिक्रिया