हिमपातले म्याग्दीमा जनजीवन प्रभावित
मंसिर २७, २०७६ | म्याग्दी
शुक्रबार बिहानदेखि परेको हिमपातले मुस्ताङ र म्याग्दीको उपल्लो हिमाली क्षेत्रको जनजीवन प्रभावित भएको छ । बाक्लो हिमपातले पर्यटकीय क्षेत्र पुनहिल, महरे, खोप्रामा लगायत क्षेत्रमा चिसो बढेको छ । हिमपातबाट जिल्लाको सबैभन्दा दुर्गम वस्ती गुर्जा पैदलमार्गबाट समेत विच्छेद भएको छ ।
पर्यटकहरुको यात्रा रोकिएका छन् । चिसोले वृद्धवृद्धा, बालबालिका र रोगीलाई सास्ती भएको छ । ‘बिहानै देखि हिउँ निरन्तर परिरहेको छ’ अन्नपूर्ण गाउँपालिका, ६ घोडेपानीका पर्यटन ब्यवसायी तारा पुनले भनिन, ‘अत्यधिक चिसो छ । चिसोले खानेपानीको पाईप बन्द भएका छन् ।’ उच्च क्षेत्रमा हिमपात भएको छ भने सदरमुकामको तल्लो क्षेत्रमा भने अत्याधिक चिसो बढेको छ । लामो खडेरी पछि हिमपात भएकोले कृषकहरु भने खुशी भएका छन् ।
‘ठिक्क समयमा पानी परेकोले गहुँ, केराउ तथा तोरीबालीलाई सिंचाई भएको छ । जता ततै खनेका सडकमा धूलो उडेर हैरान थियो, धूलो बसेको छ’ धौलागिरी गाउँपालिका, ७ ताकमका पुस्कर भण्डारीले भने, ‘चिसो बढेको छ । शनिबारसम्मै पानी परिरहे हिउँ नै खस्न सक्छ ।’
हिमपातपछि पोखरा–जोमसोम हवाई उडान अवरुद्ध भएको छ । जोमसोमदेखि तल म्याग्दीतर्फ झर्ने र उक्लने सवारी साधनहरु लेते क्षेत्रमा रोकिएका छन् । हिमपातले चिसो अधिक बढेकोले स्थानीय, कर्मचारीहरु घर/कार्यालय भित्रै आगो बालेर बसेका छन् ।
‘हिमपात भैरहेको छ । सामान्य हिमपातले यहाँको उत्पादनले वृद्धि हुन्छ । हिमपात हुनु राम्रो हो’ लोमन्थाङका कृषक साङ्वो गुरुङले भने, ‘गत वर्ष जस्तो चौरी, भेडा/च्याङ्ग्रा पुरिने गरी बाक्लो हिउँ नपरे हुन्थ्यो ।’