‘सिद्धबाबा’ अझै ७ दिन प्रहरी निगरानीमा

मंसिर ३०, २०७६ | सुनसरी

जिल्ला अदालत सुनसरीले सोमबार सिद्धबाबा भनिने कृष्णबहादुर गिरिको सम्बन्धमा अस्पतालमै निगरानीमा राखेर अनुसन्धान गर्न चौंथो पटक सात दिनको म्याद थप गरेको छ । एक अनुयायी महिलालाई आश्रममा बोलाएर बलात्कार गरेको उजुरी परेपछि उनी माथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

 पीडित महिलाको उजुरीपछि बिरामी भएको बहानामा उनी अस्पताल भर्ना भएकाले प्रहरीले निगरानीमा राखेर अनुसन्धान गरिरहेको छ । बलात्कारको आरोप लागेका गिरी अझै ७ दिन प्रहरी निगरानीमा रहने भएका छन् । यसअघि सुनसरी जिल्ला अदालतबाट सात दिनको, चार दिनको र तीन दिनको गरी १४ दिन म्याद थप गरिसकेको छ । 

चौंथो पटक ७ दिन म्याद थप भएलगतै प्रहरीले उनलाई विराट नर्सिङ होममै फर्काउन बाध्य भएको छ । प्रहरीले अनुसन्धान सकिएको संकेत गरेको थियो । तर, अनुसन्धानको कागजात पर्याप्त र अभियोग पूरक नभएकाले पुन: म्याद थपको माग सहित अदालत पेश गरिएकोमा अदालतबाट ७ दिनको म्याद प्राप्त भएको सरकारी वकिल गोकुल निरौलाले बताउनुभयो ।

सुनसरी प्रहरीले सोमबार दिउँसो गिरिलाई म्याद थप गर्न अदालत पुर्‍याएको थियो । जिल्ला न्यायाधीश मणिराम न्यौपानेको इजलासले थप ७ दिन अस्पतालमै निगरानीमा रहने गरी प्रहरी अनुसन्धानका लागि म्याद थपेको हो । अदालतले सोमबारबाट लागू हुने गरी थप भएको ७ दिनमा प्रहरीलाई गिरी उपर थप अनुसन्धान सहित उपस्थित गराउन भनेको छ । 

यसअघि प्रहरीले ३ दिनको म्याद सकिएसँगै उनको मुद्दा अदालत समक्ष बुझाइने बताएको थियो । सोही अनुरुप अघिल्लो दिन प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय इनरुवामा अनुसन्धान प्रतिवेदन बुझाएको थियो ।

अनुसन्धान गरिरहेका सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद शर्माले अदालतबाट ७ दिनको म्याद थप भएसँगै निगरानीमा रहने गरी उपचारका लागि कृष्णदासलाई अस्पतालमै पुर्‍याइएको बताउनुभयो । चतरास्थित रामानन्दाचार्य सेवापीठका संरक्षक समेत रहेका जगद्गुरु, अनन्तश्री र महायोगी सिद्धबाबाको उपाधि लिएका गिरी विरुद्ध एक अनुयायी महिलाले आफूलाई गत कार्तिक ४ गते बलात्कार गरेको भन्दै मंसिर १३ गते सुनसरी प्रहरीमा जाहेरी दिएकी थिइन् । 

अबको एक सातामा अनुसन्धान सकिएमा प्रहरीले मिसिल बुझाउने छ । सरकारी वकिलका अनुसार अनुसन्धानका मिसिल अदालतमा बुझाए पछि थुनछेकको दोहोरो बहस हुने छ । दोहोरो थुन छेक बहसपछि गिरिलाई साधारण तारेखमा छाड्ने वा धरौटीमा छाड्ने वा पुर्पक्षका लागि कारागार चलान गर्ने अदालतले आदेश दिन सक्ने छ ।

प्रहरीले यसअघि नै सिद्धबाबाको डीएनए परीक्षणका लागि नमूना संकलन गरी नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला काठमाडौं पठाएको थियो । पीडित महिलाको भेजिनल स्वावसँग सिद्धबाबाको डीएनए म्याच भए/नभएको निर्कोल विधि विज्ञान प्रयोगशालाले गर्नेछ । सिद्धबाबाको डीएनए परीक्षणको रिपोर्ट भने अझै आइसकेको छैन ।


प्रतिक्रिया