न्यायका लागि सर्वोच्च अदालतसम्म जान्छु : पीडित महिला
पुस १५, २०७६ | सुनसरी
आफूलाई सिद्धबाबा भन्ने कृष्णबहादुर गिरीले बलात्कार गरेको भनेर सबुत प्रमाण सहित पुगेपनि सुनसरी जिल्ला अदालतले धरौटीमा छुटाएपछि पीडित महिलाले अदालतले दोश्रो पटक बलात्कार गरेको प्रतिक्रिया दिएकी छिन् ।
सुनसरीको बराहक्षेत्र चतरास्थित रामानन्दाचार्य सेवापीठका संरक्षक सिद्धबाबा भनिने ४५ वर्षीय गिरीलाई तीन लाख रुपैयाँ धरौटीमा छुटाएपछि पहिले सिद्धबाबाले बलात्कार गरेको र पछि अदालतले बलात्कार गरेको महसुस भएको उनले बताइन् ।
उनले भनिन्, ‘सिद्धबाबा भन्ने बलात्कारीलाई अदालतबाटै उन्मुक्ती पाएकोमा मलाई थप मानसिक तनाव र पीडा भएको छ ।’ उनले सिद्धबाबा धरौटीमा छुटेपछि आफूमाथि सुरक्षा चुनौती बढेकाले सिद्धबाबाको अनुयायीका तर्फबाट हुन सक्ने खतराबाट बच्न सुरक्षाको माग पनि गरेकी छिन् ।
जिल्ला अदालतबाट सिद्धबाबाले उन्मुक्ती पाएपनि धर्म र सन्त साधुनको नाममा ढोंगीहरुबाट महिला अस्मिता जोगाउन न्यायका लागि उच्च अदालत र सर्वोच्च अदालत हुँदै अन्तर्राष्ट्रिय अदालतसम्म जान तयार रहेको बताइन् ।
उनले आफ्नो मुद्दाको अनुसन्धान अधिकृत सुनसरीका प्रहरी नायब उपरीक्षक डीएसपी विनोद शर्माले अनुसन्धान चलिरहँदा गिरीको पक्षबाट बोल्दै मुद्दा फिर्ता लिएर मिल्नका लागि दबाब दिंदै पैसा दिने र भनेजति सुविधा दिने प्रलोभन दिएको बताइन् ।
डीएसपी शर्माले काठमाडौं त्रिभुवन अन्तर्राष्ट्रिय एयरपोर्टमा आफ्ना श्रीमानलाई भेटेर सिद्धबाबा प्रकरणमा मुद्दा फिर्ता लिए पैसा, अपार्टमेन्ट, सरकारी जागिर र कार दिने प्रलोभन समेत देखाएको उनले बताइन् ।
गिरी धरौटीमा रिहा भएपछि महिला अधिकारकर्मीहरुले सुनसरीमा पत्रकार सम्मेलन गर्दै अदालतको आदेशको विरोध जनाएका छन् । उजुरी दर्ता गरेसँगै प्रहरीले घट्नालाई गम्भीरतापूर्वक नलिई झारा टार्ने शैलीमा अनुसन्धान गरेको अरोप समेत लगाइन् ।
कमजोर मिसिल तयार भएको थाहा पाएपछि पीडित महिला महान्यायाधिवक्ता कार्यालय पुगेकी थिइन् । त्यसपछि मात्र सरकारी वकिल कार्यालयले अडियो रेकर्डलाई समेत प्रमाणको रुपमा अनुसन्धान गर्न प्रहरीलाई दबाब दिएको थियो ।
गिरी धरौटीमा रिहा भएपछि सुनसरीमा ‘युवतीलाई जिस्काउन र बलात्कार गर्न सिद्धबाबा नै हुनुपर्छ’ भन्ने गफ चल्न थालेको छ । सबुत प्रमाण सहित सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई १० वर्षसम्म कैद सजायँको माग गरेपनि तीन लाख धरौटीमा सोमबार छुटेपछि चियापसल र चोकमा आलोचना र टिकाटिप्पणी हुन थालेका छन् ।
अनुसन्धान भइरहँदा फोन संवादमा सिद्धबाबा भन्ने कृष्ण बहादुर गिरीले पीडित महिलासँग माफी मागेको अडियो समेत सार्वजनिक भइसकेको थियो । सो अडियो रेकर्ड अभियुक्त गिरीविरुद्ध गतिलो प्रमाणको रुपमा रहेको थियो । सरकारी वकिलसँग पनि गिरीले पीडित महिलासँग माफी मागेको अडियो आफ्नै भएको स्वीकार गरेका थिए ।
आफ्ना अनुयायीहरुको आग्रहमा आफूले करणी नगरेपनि धर्मरक्षाको लागि माफी मागेको बताएका गिरीले अदालतमा भने आफूले दिएको बयान झुठो रहेको बताएका थिए । अदालतको सवाल नम्बर १९ को जवाफी बयानमा कृष्णदासले पीडितसँगको फोन संवादमा बोलेको र माफ मागेको झुट बताएका छन् ।
उनको आवाजबारे विधि विज्ञान प्रयोगशालाको रिपोर्टले गिरीकै भएको रिपोर्ट दिएको छ । प्रयोगशालाको रिपोर्टमा ७६ दशमलव ९ प्रतिशत आवाज मिलेपनि अदालतले ठूलो प्रमाणको रुपमा नलिंदा धरौटीमा रिहा भएको पीडित पक्षले बताएको छ ।
गिरीका अनुयायी भोला बरालले गुरुले धर्मको लागि माफी मागेको स्वीकार गर्दै त्यस्तो कार्य गर्न नहुने भएपनि कल्पनामा डुबेकी साधिकाबाट गल्ती हुन गयो भनेर बाबा जी (गिरी) ले आफ्नो मोबाइलबाट फोन सम्पर्क गरेको बयान दिएका थिए ।
सिद्धबाबा प्रकरणमा मुल प्रमाण अडियो रेकर्ड हुँदाहँुदै पनि कृष्णदास पुर्पक्षमा नगएकोमा महिला अधिकारकर्मीहरुले चित्त बुझाउन नसकेको महिला आधारशिलाका अध्यक्ष शुशिला उप्रेतीले बताउनुभयो ।
न्याय पाउनु पर्छ भन्दै पीडित महिलालाई साथ दिंदै आएका महिला आधारशीलाका अध्यक्ष उप्रेतीले धरौटीमा छुट्नु नै अन्तिम नभएपनि अदालतको यो आदेशले न्यायिक राज्यमा बसेको अनुभूति नभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘गिरी विरुद्धको सबुत प्रमाण हुँदाहुँदै पनि तीन लाख धरौटीमा तारेखमा छाड्नु अदालतकै खिल्लि उडाउनु हो ।’
पीडितको पक्षमा उभिएकी सुनसरीका पूर्व सांसद अनिता परियारले पीडित महिलाले न्याय नपाएसम्म उनलाई साथ दिइरहने बताउनुभयो । उहाँले भन्नुभयो, ‘बलात्कार जस्तो जघन्य अपराध, महिला हिंसा र सामाजिक कलंकमा गिरी धरौटीमा छुट्नु समाजका लागि दुर्भाग्य भएको छ ।’
यसअघि पीडित पक्षले प्रहरीले कमजोर मिसिल बनाएको बताउँदै आएका थिए । कमजोर मिसिल बनाएको आरोप बारे सिद्धबाबा प्रकरणका अनुसन्धान अधिकृत प्रहरी नायब उपरिक्षक विनोद शर्माले सिद्धबाबा पुर्पक्षका लागि जेल जाने गरी मिसिल बनाएको बताएका थिए । उनले भनेका थिए, ‘यो मुद्दामा सिद्धबाबा थुनामा नगए मलाई बिक्री भयो भनेर लेखिदिए हुन्छ ।’
कानून व्यवसायी पदक इस्वोले भन्नुभयो, ‘तीन लाख धरौटीमा अभियुक्त गिरी छुट्नु भनेको उनले सफाइ पाएको होइन । यसलाई गिरीको जित वा चोखिएको ठहरिन्न । जबसम्म अन्तिम फैसला हुँदैन तबसम्म उनले तारिख धाउनु पर्छ । जिल्ला अदालतको आदेश विरुद्ध उच्च अदालतमा गएको खण्डमा उच्च अदालतले गिरीलाई पुर्पपक्षका लागि थुन्ने आदेश पनि दिन सक्छ ।’
यसैबीच, सरकारी वकिलको कार्यालयले आदेश विरुद्ध उच्च अदालतमा जाने तयारी गरेको छ । अदालतका आदेश पछि न्यायाधीवक्ता गोकुल निरौलाले भन्नुभयो, ‘अभियुक्त गिरी तीन लाख रुपैयाँ धरौटीमा छुटेपनि हामी गिरी विरुद्ध उच्च अदालत जाने तयारीामा छौं । शायद मंगलबार वा बुधबार मुद्दा दर्ता गर्ने छौं ।’
उहाँका अनुसार गिरीले पीडित महिलासँग माफी माग्दै मुद्दा फिर्ता लिनका लागि याचना गरेको फोनवार्ता ७६ दशमलव ९ प्रतिशत म्याच भएको, महिलाले किटानी जाहेरी दिएको, गिरीका दुई सेवकले फोन गराएको बयान दिएको, कात्तिक ४ गते पीडित महिला आश्रममा आएको, बलात्कार भएको स्थानको मुचुल्का उठाएको, म्यासेजहरु लेखेको बलियो आधारमा जिल्ला अदालतको आदेशको विरुद्ध उच्च अदालतमा जाने तयारी भएको छ ।
आफूलाई वेद, आयुर्वेद, योगशास्त्र, नाडी, संस्कृत व्याकरण, ज्योतिष शास्त्र, नित्य महायोग साधनाको आचार्य रहेको र विद्यावारिधी समेत गरेको दाबी गर्दै आएका गिरी विरुद्ध कात्र्तिक ४ गते बलात्कारको आरोप लागेको थियो ।
बलात्कार आरोप लागेको थाहा पाएलगतै गिरी बिरामी भएको बहाना गरेर विराटनगरस्थित विराट नर्सिङ होमको स्त्री तथा प्रसूति विभागको ५ नम्बर क्याबिनमा भर्ना भएका थिए । गिरीविरुद्ध मंसिर १६ गते बलात्कार मुद्दा दर्ता भएपछि क्याबिनबाटै प्रहरीले पक्राउ गरी म्याद थपका लागि सुनसरीको इनरुवास्थित अदालतमा ल्याएको थियो ।
पटकपटक गरी २५ दिनसम्मको म्याद थपमा एकदिन पनि प्रहरी हिरासतमा गिरी बसेनन् । बिरामीको बहाना बनाएर केही दिनसम्म आइसीयुमा राखिए । त्यसपछि विराट नर्सिङ होमको डिलक्स रुमलाई भीआइपी हिरासत बनाएर बसे । बाहिर हर्ट अट्याक भएको भनिए पनि गिरीले छालामा हुने लुतोको औषधि मात्र प्रयोग गरेका थिए ।
महिला अनुयायीले आफ्नो श्रीमानको साथ र सहयोग पाएर गिरी विरुद्ध बलात्कार मुद्दा लगाएपछि धरौटीमा छुटेपनि करीब ३ वर्षअघि गिरीकै आश्रमबाट बेपत्ता बनाइएका इटहरीको बालग्रामका चापागाँई थरका १२ र १३ वर्षका दुई दिदी बहिनीको खोजी ओझेलमा परेको छ ।
ती दिदी बहिनीलाई गिरीले पढाउन भनेर आश्रममा ल्याएका थिए । तर, तीन महिना पनि नबित्दै भागेर घर आएपछि गिरीबाट यौनदुव्र्यवहार भएको चर्चा चल्दा महिला सञ्जाल, महिला पुन: स्थापना केन्द्र र माइती नेपाल खोजीनीति गरेको थियो ।
यसैगरी, गिरीले आफ्नो पहुँचको भरमा सुनसरी र मोरङका ६८ हजार हेक्टर जमिन सिंचाई गर्ने सुनसरी–मोरङ सिंचाई आयोजनाको चतरा नहरको १३ बिघा जग्गा कब्जा गरेर नक्सा नै पास नगरी बनाएको १२८ कोठे भवन, कुम्भमेला र निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दा उठेको करीब ३० लाख रुपैयाँले गिरीमात्र बस्ने भवनको विषय पनि ओझेल परेको बराहक्षेत्रका महिला सञ्जालका अध्यक्ष देउमाया थापा र अगुवा सिता भण्डारी पौडेलले बताईन ।
उनीहरुले सोलुखुम्बुको जुबु र सुनसरीको इनरुवाबाट दुई मिति भएको र नाम पनि फरक भएको दुई नागरिकता लिएका र कक्षा ७ फेल गिरी बलात्कार काण्डमा मुछिए पछि धार्मिक तीर्थस्थलको रुपमा स्थापित बराहक्षेत्रको बदनाम भएको भन्दै सामाजिक बहिस्कार गर्ने चेतावनी दिइसकेका छन् ।
महिला सञ्जालकी अगुवा सिताले भन्नुभयो, ‘धार्मिक तीर्थ स्थलको रुपमा स्थापित भएपनि जिल्लामै पिछडिएको बराहक्षेत्रमा १३ वर्षअघि युवा सन्तको भेषमा भारतबाट गिरी आउँदा बालसन्त मोहनशरण देवाचार्यले आश्रय दिएर राखेका थिए ।
गिरीले आयुर्वेदको ज्ञाता भएको बताएपछि बराहक्षेत्रको विकास र उन्नतीका लागि उनलाई स्थानीय सबैले साथ र सहयोग दिएपनि कहिले किशोरी यौन दुव्र्यवहार, कहिले आर्थिक अपारदर्शीता लगायत विवादमा मुछिन थालेपछि ‘यी मान्छे ठीक छैनन्’ भन्ने लागेर साथ दिन छाडेका थियौं । पछि फेरि आफूलाई महायोगी सिद्धबाबा, अनन्तश्री, जगद्गुरु भएको परिचय दिन थालेपछि झन् शंका लाग्यो । तर गिरी त आयुर्वेद विद्या जान्ने मान्छे नै होइनन् रहेछ भनेर पछि मात्र थाहा पायौं ।’