अर्थ मन्त्रालयका उपसचिव ढुङ्गानाविरुद्ध भ्रष्टाचार मुद्दा

पुस १८, २०७६ | काठमाडौं

पदको दुरुपयोग गरी अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्थ मन्त्रालयका उप–सचिव राजेन्द्र ढुङ्गानाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

सार्वजनिक सेवाको पदमा रहँदा उप–सचिव ढुङ्गानाले आर्जन गरेको कुल सम्पत्ति मध्ये ४ करोड ६८ लाख ४८ हजार ५ सय ५६ रुपैयाँ ४५ पैसाको स्रोत नखुलेपछि आज आरोप–पत्र दायर गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताउनुभयो । 

ढुङ्गानाले सार्वजनिक सेवामा प्रवेश गरेको मिति २०४९ साउन १९ देखि २०७५ असार ३२ गते सम्मको आर्जन सम्पत्तिविरुद्ध आयोगले अनुसन्धान गरेको थियो । 

अख्तियारका प्रवक्ता कोइरालाका अनुसार २६ बर्षको अबधिमा ढुंगानाको वैध आय ७९ लाख ५४ हजार ७ सय ९५ रुपैयाँ हुने तर सो अवधिमा उनले गरेको खर्च तथा लगानी ५ करोड ४८ लाख ३ हजार ३ सय ५१ अस्वभाविक देखिएको र त्यसमध्ये ४ करोड ६८ लाख ४८ हजार ५ सय ५६ रुपैयाँको स्रोत नखुलेको पाइएको हो । 

पदको दुरुपयोग गरी आर्जन गरेको सम्पत्ति सह–सचिव ढुङ्गानाले श्रीमती मधु कोइरालाको नाममा समेत राखेको पाईएको आयोगले जनाएको छ । 

उनीविरुद्ध पनि आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । ढुङ्गाना दम्पत्तिविरुद्ध आयोगले ४ करोड ६८ लाख ४८ हजार ५ सय ५६ रुपैयाँ ४५ पैसा बिगो माग गरेको छ । 


प्रतिक्रिया