पूर्वाञ्चल इन्जिनियरिङ कलेजमा अनिश्चितकालिन तालाबन्दी

पुस २२, २०७६ | सुनसरी

सुनसरीको धरानस्थित पूर्वाञ्चल इञ्जिनियरिङ क्याम्पसमा विद्यार्थीहरुले अनिश्चितकालिन तालाबन्दी गरेका छन् । 

नेपाल इन्जिनियरिङ काउन्सिलले स्वीकृति बिना इन्जिनियरिङका विभिन्न विषय पठन–पाठन गरेको भन्दै दर्ता गर्न नमानेपछि विरोध स्वरुप विद्यार्थीहरुले तालाबन्दी गरेका हुन् । 

विद्यार्थीहरुले क्याम्पसको मुख्य प्रवेशद्धारमै तालाबन्दी गरेकाले शिक्षक र कर्मचारी सबै बाहिर छन् । पठनपाठन ठप्प छ ।

त्रिभुवन विश्वविद्यालय त्रिविले नै इन्जिनियरिङ विषयहरु पठन पाठनका लागि स्वीकृत दिएको सरकारी आंगिक क्याम्पसबाट पास आउट भएका विद्यार्थीले काउन्सिलबाट लाइसेन्स वा जागिरका लागि दर्ता नम्बर नपाउने अवस्था आएपछि भविष्य अन्यौल भएको भन्दै तालाबन्दी गरेको हो । 

चारवर्ष लगाएर इन्जिनियरिङ पढेर पास आउट भएपनि काउन्सिलमा दर्ता नहुँदा सरकारी वा कुनै पनि निजी कम्पनीमा जागिर नपाउँदा इन्जिनियरिङ क्याम्पसले दिएको प्रमाणपत्र कागजको खोस्टा सावित भएकाले विद्यार्थीहरु आन्दोलित भएका हुन् । 

विद्यार्थीहरुले क्याम्पस प्रशासन र क्याम्पस प्रमुख ओमप्रकाश ढकाललाई १० दिनको समय दिएपनि कुनै समाधान नभएपछि आन्दोलनमा उत्रन बाध्य भएको बताएका छन् ।

पूर्वाञ्चल क्याम्पसमा हाल इन्जिनियरिङका विभिन्न विषय अध्ययरत करीब १८ सय विद्यार्थीहरु छन् । इन्जिनियरिङमा त्रिविको प्रमुख ५ आंगिक क्याम्पस मध्ये धरानको पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसमा ०७१ सालदेखि विइ इलेक्ट्रिकल इञ्जिनियरिङको ४ वर्षे कोर्षको पढाई भइरहेको छ । 

अहिलेसम्म २ वटा ब्याच निस्किसकेको छ । तर, काउन्सिलले आफ्नो स्वीकृति बिना पठनपाठन गर्ने त्रिविको आंगिक क्याम्पसले दिएको प्रमाणपत्रलाई मान्यता नदिंदा लोकसेवा आयोग र सरकारी जागिर वा निजी कम्पनीमा काम पाउन नसकेर बेरोजगार बनेको विद्यार्थीहरुले बताए । 

इलेक्ट्रिकल इन्जिनियरिङ समाजका अध्यक्ष नेत्रप्रकास अर्‍यालले भन्नुभयो, ‘इलेक्ट्रिकल इन्जनियर हुने सपना देखेर चारवर्षे कोर्ष पढियो । तर, क्याम्पसले काउन्सिलसँग समन्वय नै गरेको छैन रहेछ । हामी भन्दा अगाडिका सिनियरहरुको हालत पनि यस्तै छ । पैसा, समय उमेर र मेहेनत खेर जाने देखेर क्याम्पसलाई कसरी हुन्छ काउन्सिलसँग समन्वय गर्नका लागि दबाब दिन तालाबन्दी गरेका हौं ।’

त्रिवि मातहतको इञ्जिनियरिङ अध्ययन संस्थान अन्र्तगतको यो क्याम्पसले समयमा नै काउन्सिलबाट कोटा स्वीकृत नगराउँदा आफूहरुको भविष्य अन्यौलमा परेको उनीहरुले बताएका छन् । 

क्याम्पसमा ०७१ सालदेखि ५ वर्षे आर्किटेक्चर इन्जिनियरिङ पनि पठन पाठन हुँदै आएको छ । उक्त फ्याकल्टिको हालत पनि उस्तै रहेको छ । 

संकाय सुरु हुँदा डिन कार्यालयले काउन्सिलमा दर्ता गर्नुपर्ने आवश्यकता नरहेको भन्दै क्याम्पस प्रसाशनलाई भनेको कारण अहिले समस्या आएको हो ।

क्याम्पस प्रमुख ओमप्रकाश ढकालले आफू गत जेठ १७ गतेदेखि मात्र चार वर्षका लागि क्याम्पस प्रमुख भएर आएकाले ती सबै प्रकृया अगाडिको क्याम्पस प्रमुखले समन्वय गरेको ठानेको तर नया विवाद उत्पन्न भएको बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘विद्यार्थीको समस्या समाधान गर्न मैले पहल र प्रयास जारी राखेको छु । यो त्रिविको नाफारहित सरकारी आंगिक क्याम्पस हो । प्राइभेट होइन । तर काउन्सिलले डिनबाट अनुमति पाएर सञ्चालन भएको इलेक्ट्रिकल र आर्किटेक्टर इन्जिनियरिङबाट पास आउट भएका विद्यार्थी चिन्दैनौ भन्छ । प्राइभेट इन्जिनियरिङ क्याम्पसलाई कडाइ गर्नु पर्नेमा सरकारले स्वीकृत गरेको क्याम्पसका विद्यार्थीको भविष्य अन्यौलमा पार्न खोजेको देखियो ।’

उहाँले विद्यार्थीको समस्या समाधान गर्न मंगलबार नै इन्जिनियरिङ अध्ययन संस्थानको डिनको कार्यालय, शिक्षा मन्त्रालय र काउन्सिलमा जाने बताउनुभयो । यसअघि पनि आफूले काउन्सिलका अध्यक्ष र रजिष्ट्रारसँग कुरा गर्दा ०७१ सालदेखिको प्रक्रिया खोजेपछि क्याम्पस प्रशासनले सबै विद्यार्थीको फारम, र प्रतिविद्यार्थीको हजार रुपैयाँका दरले लाग्ने दस्तुर करीब ४ लाख रुपैयाँ पनि काउन्सिलको खातामा जम्मा गरिदिएको तर अझै दर्ता नगरेको ढकालले बताउनुभयो । 


प्रतिक्रिया