अक्जिन प्लाण्ट बिग्रेपछि बीपी प्रतिष्ठानमा अप्रेशन बन्द

पुस २८, २०७६ | सुनसरी

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अक्सिजन प्लाण्ट बिग्रिएपछि शल्यक्रिया सेवा बन्द भएको छ । प्लाण्ट गएराति ११ बजेदेखि बिग्रेर प्रतिष्ठानका चार वटा अप्रेशन थिएटरमा जाने मुख्य पाइपलाइनबाटै अक्सिजन आपूर्ति नभएपछि बिरामीको शल्यक्रिया हुन नसकेको हो ।

प्रतिष्ठानमा सामान्य, मध्यम र ठूला गरी दैनिक ७० देखि ८० वटा शल्यक्रिया हुने गरेको छ । तर, प्लाण्टमा एक्कासी खराबी आएपछि थिएटरमा छिराइसकेका बिरामीलाई समेत शल्यक्रिया नगरी निकालिएको प्रतिष्ठान श्रोतले जनाएको छ । आकस्मिक र सघन उपचार कक्षमा भने अक्सिजन सिलिण्डर राखिएका छन् । 

प्रतिष्ठान जस्तो दैनिक ३५ सय बिरामी उपचारका लागि आउने, हजार बढी शैयामा बिरामी भर्ना गरेर उपचाररत रहेको स्वास्थ्य संस्थामा अक्सिजन प्लाण्ट कै कारण अप्रेशन रोकिएको छ । अक्सिजन प्लाण्ट बिग्रिएर शल्यक्रिया रोकिएको प्रतिष्ठान स्थापना यता देखिको यो पहिलो घट्ना हो । 

०६२/०६३ को जनआन्दोलन हुँदा पनि प्रतिष्ठानमा अप्रेशन थिएटर खाली राखिएको थिएन । प्रतिष्ठानका सर्जिकल विभागका प्रमुख डा राकेश गुप्ताले अप्रेशन गर्ने बेलामा अक्सिजन आपूर्ति नभएपछि अधिकांश बिरामीको अप्रेशनको समयपछि सारेको बताउनुभयो । उहाँका अनुसार प्रतिष्ठानले अक्सिजनको व्यवस्था गरेपछि फेरि अप्रेशन थिएटर चालू हुन्छ ।

अर्का एक चिकित्सकले अप्रेशन थिएटरमा विरामीकालागि अनिबार्य आपुर्ती गर्नु पर्ने अक्सिन नै रोकिए लगतै अस्पताल प्रशासनले वैकल्पिक व्यबस्था गर्नु पर्नेमा त्यो पनि गर्न नसकेको बताए ।

अप्रेशन थिएटर नै बन्द भएपछि बिरामी र उनीहरुका आफन्तले चिकित्सकहरुलाई बारम्बार फोन गरेर तनाव दिएको अर्का चिकित्सकले बताए । अक्सिजनले भरिएको सिलिण्डर राखेर पनि अप्रेशन गर्नू पर्ने विकल्प छ । तर, प्रतिष्ठानले अक्सिजन सिलिण्डर समेत पर्याप्त नराखेकाले मुख्य अप्रेशन थिएटरमा बिरामीको अप्रेशन गर्न नसकिएको चिकित्सकहरुले बताएका छन् ।

आइतबार राति बिग्रेको अक्सिजन प्लाण्ट गत वर्षको माघ २४ गते जडान गरिएको हो । भारतीय आपूर्तिकर्ता युनिषी इण्डिया (युएनएसएसआई इण्डिया) र नेपाली आपूर्तिकर्ता काठमाडौको डाइग्नोकेनले उपलब्ध गराएको भएपनि यो समेत गरी तीन पटक बिग्रि सकेको छ । 

प्रतिष्ठान श्रोतका अनुसार अक्सिजन प्लाण्टको कम्प्रेशर मेसिन बिग्रेको बताइएको छ । प्रतिष्ठानका इलेक्ट्रोमेड विभागका प्रमुख इन्जिनियर राहुल मिश्रका अनुसार ‘प्लाण्टमा प्राविधिक समस्या आएको हो । बनाउने प्रयास भईरहेको छ । 


प्रतिक्रिया