प्रदेश ५ को हिंउदे अधिवेशन शुरु

माघ ५, २०७६ | बुटवल

– नाम र स्थायी राजधानी तोक्ने प्रमुख कार्यसूचीसहित प्रदेश ५ मा प्रदेश सभाको हिंउदे अधिवेशन आज शुरु भएको छ । हिउँदे अधिवेशनको पहिलो दिन आजको बैठकमा प्रदेश सभाका दलका नेताले पाँचौं अधिवेशनले प्रदेशको स्थायी राजधानी र नामाकरण टुङ्गो लगाउनु पर्ने बताएका छन् । 

नेकपाका मूख्य सचेतक भुमिश्वर ढकालले प्रदेश सभाबाट भएका हरेक निर्णय सत्तापक्ष र प्रतिपक्ष नबनी सहमतिबाटै हुने गरेकाले आगामी दिनमा पनि सहमति र एकतालाई थप खँदिलो बनाएर अघि बढ्ने बताउनुभयो । प्रदेशले सम्बृद्धीको नारा अघि सारेको भन्दै उहाँले सम्वृद्धी रहर र चाहनाले मात्र नआउने भएकाले त्यसका लागि पहल, प्रयत्न र चाहना हुनुपर्ने बताउनुभयो ।

विपक्षी दलको तर्फबाट प्रदेश सभा सदस्य फकरुद्धिन खानले नामाकरण र स्थायी राजधानीको टुङ्गो लगाउन आग्रह गर्नुभयो । कांग्रेस सचेतक निर्मला क्षेत्रीले पनि जनताको मन जित्ने गरी विकासका काम गर्न सरकारलाई आग्रह गर्नुभयो । समाजवादी पार्टीका सन्तोष पाण्डेले सरकार विकासको बाटोमा अघि बढनु पर्ने सुझाव दिंदै प्रदेश सभाले त्यसको खवरदारी गरिरहन जरुरी रहेको बताउनुभयो । प्रदेश सभाको अर्को बैठक आगामी आइतबार बस्ने छ ।


प्रतिक्रिया