केमिकल पैंचो लिएर कोरोना भाइरस परीक्षण नेपालमै सुरू

माघ १३, २०७६ | काठमाडौं

नोवेल कोरोना भाइरस परीक्षण नेपालमै सुरु भएको छ । भाइरस अनुसन्धान गर्ने संस्था ‘सीएमडीएन’ सँग केही रिएजेन्ट केमिकल लिएर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले आजबाट परीक्षण सुरु गरेको हो । 

कोरोना संक्रमणको आशंकामा हाल काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएका तीन बिरामीको नमुना संकलन गरी परीक्षण सुरु गरेको प्रयोगशालाकी निर्देशक डा. रुणा झाले बताउनुभयो । 

२४ घण्टाभित्र परीक्षणको रिपोर्ट आइसक्ने उहाँले बताउनुभयो । आकस्मिक सेवाका लागि अहिले २४ घण्टै प्रयोगशाला खुल्ला हुने झाको भनाई छ । संस्थाले प्रयोगशालालाई सय वटा नमुना परीक्षण गर्न सकिने केमिकल सहयोग गरेको छ । 

नमुना परीक्षणका लागि प्रयोगशालाले जर्मन कम्पनीबाट रिएजेन्ट केमिकल खरिद गर्ने प्रक्रिया अघि बढाइरहेको छ । टेण्डर प्रक्रियाबाट ढिलो हुने भएपछि सोही संस्थासँग पैँचो मागेर नमुना परीक्षण सुरु गरिएको झाको भनाई छ । 

नमुना परीक्षणका गर्न स्वास्थ्यकर्मीलाई तालिम प्रयोगशालाले पाटन, ग्राण्डी, सिभिल, भक्तपुर, प्रहरी, वीरेन्द्र सैनिक, नर्भिक, त्रिवि शिक्षण र वीर अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई भोली स्वास्थ्य सेवा विभागमा तालिम दिने तयारी गरेको छ ।

यसैबीच, कोरोना भाइरसका कारण चीनमा मात्र मृत्यु हुनेको संख्या ८१ पुगेको छ । ३ हजार भन्दा बढी संक्रमित भएका छन् । पछिल्लो समय सुनशान बनेको हुवेइ राज्यमा मात्रै ७६ जनाले ज्यान गुमाएका छन् । 

बिरामी मध्ये ३ सय जनाको अवस्था गम्भीर रहेको बीबीसीले उल्लेख गरेको छ । हुवेइमा रोग नियन्त्रणका लागि ५ लाख स्वास्थ्यकर्मी खटाइएको छ ।  


प्रतिक्रिया