जंगलमा हराएका पर्यटकसँग फोनमा कुरा भयो, मान्छे भेटिएनन्

माघ १७, २०७६ | म्याग्दी

अन्नपूर्ण हिमालको पश्चिम फेदीको खोप्राबाट तल नारच्याङ्ग गाउँ झर्ने क्रममा बाटो बिराएर बिहीबार दिउँसोदेखि बाक्लो हिउँ जमेको जंगलमा फसेका ४ जना नेपाली पर्यटक शुक्रबार साँझसम्म फेला परेका छैनन् । 

हराएका पर्यटकको खोजी तथा उद्धारमा गएका चुपिन पुर्जा स्थानीय समेत सम्पर्क बिहीन हुँदा थप समस्या भएको छ । शुक्रबार दिउँसो २ बजेसम्म फोनमा कुराकानी भएपनि भीर, बाक्लो हिउँ जमेको घना जंगलको बीचमा फसेकोले स्थान पत्ता नलाग्दा उद्धारमा समस्या भएको हो । 

बिहीबार बिहान खोप्राबाट हिँडेका काठमाडौका अंकित शाह समेत ४ जना आन्तरिक पर्यटक बाक्लो हिउँमा बाटो छिचोल्न नसक्दा भीर र जंगलमा पुगेका हुन् । हराएका पर्यटकको फोन लोकेसन अन्नपूर्ण गाउँपालिका, ४ नारच्याङ लेकगाउँदेखि माथि रेलेखोला र घलेम्दी खोलाको बीचको जंगलमा देखिएको छ ।

गुगल म्यापको लोकेसनले हराएका पर्यटक रहेको स्थानदेखि केही तल घलेम्दी जलविद्युत आयोजनाको मुहान देखिन्छ । तर, उक्त स्थानमा पुग्ने बाटोमा बाक्लो हिउँ जमेको तथा घनाजंगल भएकोले उद्धारकर्ता पुग्न सकेका छैनन् ।

‘दिउँसोसम्म मोबाईलमा कुराकानी भएको हो । उनीहरुले आफूहरु भएको लोकेसन बताउन सकेनन्, आगो बाल्न प्रयास गर्‍यौं तर, सम्भव भएन’ घट्नास्थल नजिक पुगेका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले भन्नुभयो, ‘खोज्न गएका स्थानीय समेत सम्पर्कबिहीन भएकोले अन्यौल भएको छ । शनिबार बिहानै हेलिकोप्टर र सेना परिचालन गर्ने योजनामा छौं ।’

पदमार्ग बाक्लो हिउँले ढाकिँदा उनीहरु बाटो बिराएर घना जंगल र भीरमा पुगेका थिए । बाटो बिराएपछि उनीहरुले बिहीबार नै प्रहरी/प्रशासनमा उद्धारका लागि गुहार मागेपनि शुक्रबार अबेर सीडीओ, डीएसपी समेत केही प्रहरी सामान्य अवस्थामा घट्नास्थल तर्फ लागेका थिए । 

प्रहरी जानु अघि नै सथानीय हराएका पर्यटक खोज्न जंगल तर्फ लागेका थिए । ‘उनीहरुसँग मोबाईलमा कुराकानी भयो । हामी वारी कराएको उनीहरुले सुनेको फोनमा बताउँछन । तर, उनीहरुले चर्को आवाज निकाल्न नसक्दा नजिकै पुगेर पनि उनीहरुलाई भेट्टाउन सकेका छैनौं’ शुक्रबार दिउँसो ३ बजे उद्धारमा गएका स्थानीय चुपिन पुर्जाले भने ‘हामी रेले खोलाको नजिक छौं, उहाँहरु खोंचमा छौं भन्नु हुन्छ, बाक्लो हिउँले हिँड्न सकिने अवस्था नै छैन ।’  


प्रतिक्रिया