पोखरा विमानस्थलमा कोरोना जाँच हेल्पडेस्क

माघ १७, २०७६ | पोखरा

कोरोना भाइरसका बिरामी आउन सक्ने भन्दै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हेल्पडेस्क स्थापना गरिएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय र पोखरा महानगरपालिकाले शुक्रबारदेखि यस्तो व्यवस्था गरेका हुन् । 

चिनियाँ लगायत अन्य मुलुकका पर्यटक पनि आउने भएकाले विमानस्थलमा जाँचका लागि दुई स्वास्थ्यकर्मी आवश्यक उपकरण सहित परिचालन गरिएको हो । 

निर्देशनालयका जनस्वास्थ्य अधिकृत तथा आपतकालन कार्य सञ्चालन केन्द्रका सूचना अधिकारी बाबुराम आचार्यका अनुसार पहिलो चरणमा हवाई मार्गबाट आउने पर्यटक र नेपालीका लागि पनि विमानस्थलमा हेल्पडेस्क राखिएको हो । 

हेल्पडेस्कमा खटिएका दुई स्वास्थ्यकर्मीले रुघाखोकी, ज्वरो आएका लगायत शंकास्पद लक्षण देखिए परीक्षण गरी उपचारका लागि अस्पताल पठाउने उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘हेल्प डेस्कमा कोरोना भाइरसबारे आवश्यक जानकारी पनि दिनेछन् ।’ पर्सि आइतबारदेखि पोखराको प्रमुख पर्यटकीय केन्द्र लेकसाइडमा पनि चिनियाँ लगायत अन्य मुलुकका पर्यटकको स्वास्थ्यलाई ध्यानमा राखेर हेल्पडेस्क राख्ने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो । 


प्रतिक्रिया