अन्‍नपूर्णको फेदीमा फसेका ४ जना नेपाली पर्यटकको उद्धार

माघ १८, २०७६ | म्याग्दी

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ लेकमा फसेका चार नेपाली पर्यटकको सकुशल उद्धार गरिएको छ ।

अन्नपूर्ण हिमालको पश्चिम फेदीमा अवस्थित ३ हजार ८ सय मिटर अग्लो खोप्राबाट तल नारच्याङ्ग गाउँ झर्ने क्रममा गत बिहीबार बाटो बिराएर बाक्लो हिउँ जमेको जंगलमा फसेका उनीहरुको उद्धार गरिएको हो । 

सर्लाहीका अंकित साह, अभिसेक महतो, दोलखाका संजित लामा र धनगढीका सुमन भट्टलाई शनिबार खोजी तथा उद्धारमा गएका चुपिन पुर्जा लगायत स्थानीयले अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ्गको रेलेखर्कको जंलगबीचको खोंचबाट उद्धार गरेका हुन् ।

‘स्थानीय युवा साथीहरुले दुई दिनदेखि हिउँमै बास बसेर उनीहरुको खोजी गरी उद्धार गरेका हुन्’ घट्नास्थल पुगेर उद्धारमा जुटेका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले भन्नुभयो, ‘उद्धार गरिएका अंकित र सुमन केही बिरामी परेकोले हेलिकोप्टरबाट पोखरा पठाईएको छ । बाँकी दुई जनालाई हामीले गाडीमा राखेर नारच्याङ झरेका छौं । गाडीमै फर्कनुहुन्छ ।’

शुक्रबार उनीहरुसँग फोनमा कुराकानी भएपनि भेट्टाउन सकिएको थिएन । फोनको लोकेशनको आधारमा रेले खोलाको माथिल्लो भागको रेलेखर्क क्षेत्रमा खोजी केन्द्रित गरिएको थियो । 

शनिबार थप स्थानीय समेत परिचालन गरी खोजी तीब्र पारिएको थियो । 

अन्नपूर्ण, निलगिरी र बराह हिमालको फेदीमा अवस्थित घना जंगलमा बाक्लो हिउँले छोपेको पदमार्गमा पर्यटक मात्र होईन स्थानीय गोठाला समेत हिँड्न असम्भव प्राय: पदमार्गमा गाईड नलिई यात्रामा निक्लंदा उनी समस्यामा परेका हुन् । 


प्रतिक्रिया