शिक्षक अभावमा पठनपाठन भएन

फाल्गुन १५, २०७६ | सिरहा

– वार्षिक परीक्षा आउन एक महिना मात्र बाँकी हुँदा सिरहाको लहान नगरपालिका ११ स्थित आधारभूत विद्यालय पीडरबोनीमा नैतिक, पेशा र स्वास्थ्य विषयको पठनपाठन नै भएको छैन । शिक्षक अभावमा पठन पाठन हुन नसक्दा विद्यार्थीले ती विषय पढ्न पाएका छैनन् । कक्षा १ देखि ८ सम्म पढाई हुने करिब दुई सय जना विद्यार्थी अध्ययनरत सो विद्यालयमा प्राविमा तहका चार जना शिक्षक मात्र दरबन्दीमा कार्यरत छन् । 

जिल्लाका सामुदायिक विद्यालयमा चैत १६ गतेदेखि वार्षिक परीक्षा तालिका तोकिएको छ । कक्षा ७ मा अध्ययनरत श्रवण कुमार रामले परीक्षा आइसके पनि विद्यालयमा नैतिक शिक्षा विषयको पठन पाठन नभएको बताए । उनका अनुसार नैतिक विषयमात्र होइन परीक्षा नजिकिएपनि पेशा र स्वास्थ्य विषयको समेत दुई वटा पाठ मात्र अहिलेसम्म पढाई भएको छ । बाँकी तीनवटा विषयमा मात्र अध्यन गरेका विद्यार्थी परीक्षामा कसरी उतीर्ण हुने भन्ने चिन्तामा छन् । 

सरकारले गुणस्तरीय शिक्षाको नारा लगाए पनि आफूहरु सामान्य शिक्षाको पढाईबाट समेत बञ्चित हुनुपरेको विद्यार्थीको गुनासो छ । विद्यालयका प्रधानाध्यापक बिलट चौधरीले २०६८ देखि शिक्षा कार्यालयले ६, ७ र ८ कक्षा पठनपाठनको स्वीकृति दिएपनि त्यसअनुसार शिक्षक दरबन्दी नथप्दा विद्यालयको पठन पाठनमा अवरोध पुगेको बताउनुभयो । 


प्रतिक्रिया