मुख्यमन्त्री राउत भए महामूर्ख

फाल्गुन २६, २०७६ | जनकपुर

मिथिला नाट्यकला परिषद् (मिनाप) ले सोमवार आयोजना गरेको महामूर्ख सम्मेलनमा प्रदेश २ का मुख्यमन्त्री लालबाबू राउत महामूर्ख घोषित भएका छन् । मिनाप अध्यक्ष परमेश झा, पूर्व राष्ट्रिय सभा सदस्य बृषेशचन्द्र लाल, जानकी मन्दिरका छोटे महन्त रामरोशन दास वैष्णवलगायतले उहाँलाई तरकारीको माला, कागजबाट निर्माण गरिएको कलात्मक टोपी तथा प्रशस्तीपत्र प्रदान गरेर महामूर्ख घोषणा गरेका थिए ।

यसैगरी प्रदेश २ संसदीय दलका प्रमुख सचेतक परमेश्वर साहलाई भभकौवा, संघीय समाजवादी पार्टीका प्रदेश २ को उपनेता रामाशीष यादवलाई हराशंख, प्रदेश सभा सदस्य मनिष सुमनलाई पट्मूर्ख, प्रदेश सभा सदस्य रामचन्द्र मण्डललाई सिलौटशंकर, जनकपुरधाम उपमहानगर पालिकाकी उपमेयर रीताकुमारी मिश्रलाई टुनमुसरी, बृहत्तर जनकपुर क्षेत्र विकास परिषदका कार्यकारी निर्देशक बलराम ठाकुरलाई खेसारीलाल, महोतरी पिपरा गाउँपालिकाका प्रमुख बिक्रम चौधरीलाई खापसूरत, साहित्यकार रोशन जनकपुरीलाई बलगोवना, कवियित्री पूनम झा मैथिललाई अदलबदली, शंकटमोचन देवशरण रामरति उच्च माविका प्रधानाध्यापक बलराम साहलाई बज्रकीट, मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीलाई घरघूसना, नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष अनिल मिश्रलाई लोढाशंकर तथा युवा अभियन्ता सुशील कर्णलाई वंशकुरहरिको उपाधि प्रदान गरिएको थियो ।

उपाधिप्राप्त गर्नेहरुलाई मूला, कागर, काउली, सिमी, बोरीलगायतका तरकारीहरुको कलात्मक माला, प्रशस्तीपत्र तथा मिथिलाका विभूतिहरुको कलात्मक तस्वीर प्रदान गरिएको थियो ।

महामूर्खको उपाधि प्राप्त गरे पछिको आफ्नो पहिलो प्रतिक्रृयामा मुख्यमन्त्री लालबाबू राउतले महामूर्खको उपाधि प्राप्त गर्नुलाई ‘जीवनको अविस्मरणीय क्षण’ को संज्ञा दिए ।

‘आफ्नो जीवनमा अनेकौ पुरष्कार र सम्मान प्राप्त गरेको छु तर महामूर्खको उपाधि मेरो जीवनको अविस्मरणीय घटना हो । मिथिला संस्कृतिलाई श्रेष्ठ भन्नु पछाडिको कारण यसको उत्कृष्टता हो ।’

फागुको नाममा सामाजिक बिक्रृती बढि रहेको वेला मिनापले संचालन गरेको सांस्कृतिक महोत्सव समाजमा सकारात्मक संदेश दिएको उनको कथन थियो ।

कार्यक्रममा हाँस्य कवि गोष्ठीको आयोजन पनि गरिएको थियो । जसमा रोशन जनकपुरी, विजय दत्त मणि, प्रेम विदेह ललन, अशोक दत्त, काशीकान्त झा, आभाष कर्ण, पूनम झा मैथिल, किरण झा रश्मि, सरोज मिश्र, लालजी ठाकुर, मनोज प्रेमेस लगायतले कविता पाठ गरेका थिए ।

महामूर्ख सम्मेलनको उदघाटन हाँस्य नाटकबाट गरिएको थियो । नाटकमार्फत संघीय प्रादेशिक तथा स्थानीय सरकारमा व्याप्त भ्रष्टाचार, अनियमिततता बारे व्यंग गरिएको थियो ।

मिनापका विष्णुकान्त मिश्र र राजेश सक्सेनाको निर्देशनमा मञ्चित नाटक हेरेर तथा फागु गीत सुनेर मुख्यमन्त्री राउतसहित सम्पूर्ण दर्शक मन्त्रमुग्घ बनेका थिए ।

दुई दिवसीय होरी महोत्सवको पहिलो दिन आइतवार फागु गीत गायन प्रतियोगिता आयोजना गरिएको थियो । महोत्सवको उदघाटन प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले गरेका थिए ।


प्रतिक्रिया